arrow

एमालेको खेलकुद महासंघका कोषाध्यक्ष विदुर शर्माको मिटरव्याजको धन्दा, ४ करोड दिएर एक बर्ष नपुग्दै उठाए १६ करोड

पीडितहरु डिप्रेसन र सुसाइड गर्ने अवस्थामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
bidur-sharma-miterbyajee.jpg

काठमाडौं । राजनीतिक शक्ति र सत्ताको दुरुपयोग कुन रुपमा भइरहेको छ भन्ने कुरा विदुर शर्मा नाम गरेका एमालेको भातृ संगठन खेलकुद महासंघका कोषाध्यक्ष तथा निर्माण व्यवसायी विदुर शर्माको कर्तुतहरुबाट छर्लङ्ग हुँदै गएको छ । शर्माबाट पीडित भएका केही व्यक्तिहरु डिप्रेसनमा मात्र नभइ आत्महत्याको अवस्थासम्म पुगेका छन् ।

दोलखाका मेलुङ गाउँपालिका–२ घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट हाईट बस्ने शर्मा गठ्ठाघरमा रहेको प्रदेज निर्माण सेवा प्रा.लिका संचालक हुन् । उनी नेकपा एमालेको भातृ संगठन खेलकुद महासंघका कोषाध्यक्ष र एमाले दोलखा जिससका सदस्य पनि हुन् । यहाँसम्म आइपुग्दा उनको ठगी धन्दा र आपराधिक क्रियाकलाप राजनीतिक आडमा यतिसम्म मौलाएको छ कि उनले हजार दिएर लाख असुल्दै धेरैको घर परिवार विल्लीबाठ बनाइरहेका छन् । उनीबाट पीडित भएकाहरु डिप्रेसनमा छन् भने केहीले आत्महत्याको प्रयास गर्नुपरेका आफन्तहरुले बताएका छन् ।

जसमध्येका एक पीडित हुन दोलखाकै प्रकाश कार्की । उनको काठमाडौं–३२ मा त्रिनेत्र साकार कन्स्ट्रक्सन कम्पनी छ। रौतहटमा रेलको ट्रयाक बेड (स्टेसन)निर्माणको सबकन्ट्रयाक्टरका रुपमा काम गरिरहेका उनी कामकै सिलसिलामा शर्मासँग आर्थिक लेनदेन गर्न पुगेका थिए । तर शर्माले कार्कीलाई यतिसम्म फसाए कि उनी यतिबेला आर्थिक अवस्था र मानसिक रुपमा कमजोर भइ स्वयम बन्धकको अवस्थामा पुगेका छन् । उक्त ठेक्काको काम जारी राख्न आर्थिक सङ्कट परेपछि कार्की थिलथिलो अवस्थामा पुगेका छन् । शर्माले कार्कीलाई सापटी दिने नाममा पटक पटक ब्रम्हलुट मच्चाएको भन्दै उनका परिवार प्रहरी प्रशासन समक्ष गुहार मागिरहेका छन् तर सुनुवाइ भने भएको छैन।

काम गर्ने सिलसिलामा २०७७ सालमा कार्कीले शर्मासँग पटक-पटक गरेर ३ करोड ५६ लाख रुपैयाँ कारोबार गरेका थिए । शर्माले कार्कीलाई एक बर्ष पनि नपुग्दै त्यसको साँवा-ब्याज गरेर १२ करोड ४७ लाख रुपैयाँ तिर्न बाध्य बनाए। त्यतिमात्र होइन रुपन्देहीको देवदह नगरपालिका ७ मा रहेको कित्ता नम्बर ८२४ को दुई करोड पर्ने जग्गासमेत शर्माले आफ्नो नाममा रजिष्ट्रेशन गराइसकेका छन् । 

पैसा र जग्गा मात्र होइन शर्माले ५ करोड रुपैयाँ मागिरहेका छन्। त्यसका लागि उनले कार्कीको अपहरण गरि जर्वजस्ती गरिमा विकास बैंक र नेपाल बैंकको दुई वटा खाली चेकमा सही गराएर धम्की दिने गरेको प्रकाशका आफन्त रविन्द्र कार्कीले बताए । कुनै समय रेष्टुरेण्टका बाउन्सर भइ काम गरेका शर्माले दोलखाकै व्यवसायी गणेश उप्रेतीलाई पनि विभिन्न बहानामा फसाएको आरोप लागेको छ । त्यतिमात्र होइन शर्माले हाल अमेरिकामा रहेका सूवर्ण लामालाई गोली प्रहार गरेकाले कारवाहीमा समेत परेका थिए । त्यस्तै सिद्धीसाइ प्रकाश कन्सट्रक्सनका दिपेन्द्र बहादुर शाहीलाई पनि विभिन्न बहानामा धम्काउने र आर्थिक रुपमा फसाउने गरेको पीडीतले बताएका छन् ।

शर्माका कारण सबैभन्दा धेरै प्रताडीत बन्न पुगेका प्रकाश कार्की भने यतिबेला डिप्रेसनको अवस्थामा छन् । कारोबारको तनावले उनी नियमित काम गर्न सक्ने अवस्थामा नरहेको र चिकित्सकको परामर्श पछि आराम मात्र गरिरहेको रवीन्द्र कार्कीले जानकारी दिएका छन् । रवीन्द्रले दिएको जानकारी अनुसार शर्मालाई प्रकाशले ५३ लाख रुपैयाँ उनकै हातमा दिइसकेको र बाँकी ३ करोड ८८ लाख २०७७ माघ २ गते, २०७७ चैत ३१ गते ३ करोड ८३ लाख चार हजार ५ सय, त्यही दिन १ करोड ९३ लाख ६९ हजार, २ करोड २८ लाख २६ हजार ५ सय गरी १२ करोड ४६ लाख ७५ हजार रुपैयाँ पटक पटक गरी दिइसकेका छन् । यसरी हेर्दा प्रकाश कार्कीको बैंक खाताबाट विदुर शर्माले १२ करोड ४६ लाख ८५ हजार रुपैयाँ निकालेको र उनले कुल १६ करोड रुपैयाँ हात पारेको देखिएको छ । यी सबै घटनाका बारेमा प्रहरीलाई अनुसन्धानका लागि समेत कार्की परिवारले प्रहरीसँग हारगुहार गरिरहेको छ । 

एमालेको सक्रिय राजनीतिमा रहेका शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली, नेता महेश बस्नेत, गृहसचिब टेक नारायण पाण्डेसँग हिमचिम रहेको बताउँदै लो प्रोफाइलका व्यक्तिहरुलाई दुःख दिने गरेको पीडितहरुले बताएका छन् । शर्माले पीडितहरुलाई कतै उजुरी गरेमा मारिदिने धम्की दिने गरेका छन् । चेक बाउन्स गराउने र तिनलाई प्रहरीमा उजुर गर्न लगाएर पीडितहरुलाई ठगी मुद्दामा जेल पठाउनेसम्मका प्रयास शर्माले गर्ने गरेको पीडितहरुले नै बताउने गरेका छन् ।

तर यी सबै आरोपहरुका बारेमा विदुर निर्धक्कका साथ नर्काछन। उनले आफूले पिडित बनाएका व्यक्तिहरूका गुनासोलाई गलत आरोप भनेर आफुलाई जोगाउने प्रयास गरिरहेका छन् । छोटो समयमै अकुत सम्पति जोडेर सम्पति शुद्धिकरण विभाग आकर्षित भइसक्ने अवस्थामा रहेका उनले हाम्राकुरासँगको कुराकानीमा अरुको ऋण तिर्दातिर्दै आफू टाट पल्टिकसेको प्रतिक्रिया दिए । उक्त घट्नाका बारेमा आफ्नो कुनै प्रतिक्रिया नै नलिइ समाचार प्रकाशन गरेकोप्रति आपत्ति जनाउँदै आफ्नो मानहानी भएको उनले बताए । उनले भने,‘जो पीडित भनेर उजुरी दिने र मिडियाबाजी गरिरहेका छन् । उनीहरुलाई पटक पटक जोगाउने प्रयास गरेको छु । पैसा हालिदिएको छु । पाँच करोडमा बालकोटको जग्गा पास गरिदिएको छु । जवानी बसिदिएको छु । कसैले नपत्याउने व्यक्तिलाई पैसा उपलब्ध गराइदिएको र सहयोग गरेको छु । अनि अहिले यथार्थ नबुझी मिडियाबाजी गर्ने र प्रहरीमा उजुरी दिने काम गलत हो । मेरो चरित्र हत्या गर्ने प्रयास भयो ।’

तर विदुरले कसैलाई एक करोड रुपैयाँ उपलब्ध गराउनु परेमा कागज एक करोड रुपैयाँकै बनाउने, तर नगद सत्तरी लाख मात्र दिने, अनि त्यसको ब्याज प्रतिदिन एक लाख लिने गरेको आरोप छ । उनले भने,‘यि सबै आरोपहरु पुष्टी भए गल्तीको भागिदार हुन तयार छु । गल्ती भए कारवाही भोग्न तयार छु । यदी होइन भने मेरो चरित्र हत्याको क्षतिपूर्ति दिनुपर्छ । मेरो घरबारी लिलामीको अवस्थामा छ । यसको क्षतिपूर्ति कसले दिन्छ ? मलाई चाहीं अन्याय भएन् ?’

विदुरले आफू निर्दोष भइरहेको बताए पनि राजनीतिक र शक्तिको आडमा ऋणको 'मिटरब्याज' लिने गरेको र पैसा नतिरे गुन्डाहरु लगाएर धम्क्याउने गरेको पीडितहरुले प्रहरीमा दिएको उजुरी पत्रमा उल्लेख छ । शर्माले हिसाब मिटरब्याजमा जोड्ने गरेको पीडितहरुको भनाइ छ । उनले एक करोडको एक दिनको ब्याज १ लाख रुपैयाँ असुल्ने गरेका छन् ।

मिटर ब्याज कारोबार गर्ने व्यक्तिले लिनुपर्ने रकमको चेकमा अग्रिम सही गराएर रकम असुलीका लागि दबाब दिने गरेका छन्। नमाने त्यही चेक बाउन्स गराएर प्रहरीबाट पीडितलाई नै पक्राउने गरेका छन् । प्रकाशलाई पनि विदुरले चेक वाउन्सको मुद्दा हालेर फसाउने प्रयास गरेका छन् । तिर्नै नपर्ने पैसाको चेक कटाएर चेक बाउन्सको मुद्दा हालेको र पैसा नदिए जेलमा सडाइदिने र बालबच्चा मारिदिने धम्की दिएको रवीन्द्रले हाम्राकुरालाई जानकारी दिएका छन् । तर यी सबै घट्नाका बारेमा प्रहरीले पिडित पक्षको उजुरी नलिएपनि छलफलका लागि भने बोलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ