arrow

बागमतीले बिहीवार नयाँ मुख्यमन्त्री पाउने, को-को बन्दैछन् मन्त्री ?

logo
रविन्द्र गौतम 
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
bagmati-pradesh.jpg

हेटौँडा। बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चुनिने भएको छ हिजो बुधवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट एमालेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि आज बिहीवार नयाँ मुख्यमन्त्री सहित नयाँ मन्त्रिमण्डल विस्तार हुँदै छ। आज दिउसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम रहेको बताइएको छ।

पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले समर्थनसहित हिजै हस्ताक्षर गरी दाबी पत्र बुझाइएको थियो। आज दिउँसो मुख्यमन्त्री र ३ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम रहेको नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले हाम्रा कुरालाई जानकारी दिए।

उनका अनुसार गठबन्धनका तर्फबाट दलका उप नेतालाई मन्त्रीको जिम्मेवारी दिन लागिएको छ। नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप-नेता कुमारी मोक्तान, काँग्रेसका उप-नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादीका उप-नेता कृष्ण खनाललाई जिम्मेवारी दिने कुरा भएको उनले बताए।

कसलाई कुन मन्त्रालय भन्ने बारे भने शपथग्रहण हुने बेलामा मात्र भन्ने सहमति भएको बताउँदै उनले भने, ‘माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउँछन् कि ।’ बागमतीमा नेकपा माओवादी केन्द्र दोस्रो पटक सरकारमा जाँदै छ। पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी माओवादीको भागमा परेको थियो।

राजेन्द्र पाण्डेको नेतृत्वमा भने कुमारी मोक्तानले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ। यता, काँग्रेस भने पहिलो पटक बागमती प्रदेशको सरकारमा सरकारमा जाँदै छ । भक्तपुरबाट निर्वाचित सांसद एवम् काँग्रेस संसदीय दलका उपनेतासमेत रहेका भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको स्रोतले बताएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीकै चितवनबाट निर्वाचित सांसद कृष्ण खनाल पनि आज मन्त्री नियुक्त हुँदै छन्। अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एमालेबाट सामाजिक विकास मन्त्री नियुक्त भएका खनालले केही दिनमा नै राजीनामा दिई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनलाई पुनः सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ