arrow

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
asta-laximi-sakya.jpg

काठमाडौँ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छिन्।

आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर उनले राजीनामाको घोषणा गर्ने भएकी हुन्।

शाक्यले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने कार्यसूची छ। तर मतदान प्रक्रियामा नगई उनले राजीनामा दिने भएकी हुन्।

नेकपा एमालेका एक प्रदेशसभा सदस्यले शाक्यले प्रदेशसभा बैठकमा नै राजीनामा दिने तयारी भइरहेको बताए। उनले अहिले प्रदेश संसदीय दलको बैठक जारी रहेको र थप निर्णय केही बेरमा आउनेसमेत जनाए।

विपक्षी गठबन्धनमा बहुमत भएसँगै एमाले सरकार बागमती प्रदेशमा ढल्ने भएको हो। शाक्यको राजीनामा बागमती प्रदेशमा बाँकी रहेको कार्यकाल पहिलो आधा समय नेकपा एकीकृत समाजवादी र त्यसपछि नेपाली काँग्रेसले सम्हाल्ने सहमति भएको छ।

शाक्यको राजीनामा आए आजै पहिलो कार्यकालका लागि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन्।

बागमती प्रदेशसभामा हाल एमालेका ४३ सांसद छन्। विपक्षी गठबन्धनमा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एसका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन्।

गठबन्धन बाहेकका विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ((राप्रपा) का २ जना सांसद छन्।

शाक्य मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने भए पनि त्यो समय भने दसैँ अगाडि नै गुज्रिसकेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ