काठमाडौं । मुम्बई क्रुज ड्रग्स मामिलामा पक्राउ परेका बलिउड बादशाह शाहरुख खानका छोरा आर्यनले अहिलेसम्म जमानत पाएका छैनन् । २ अक्टुबरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले नियन्त्रणमा लिएपछि उनी जेलमै छन् ।
उनको जमानतका लागि पटक पटक सुनुवाई पछाडि धकेलिएको छ । मंगलबारको सुनुवाई पनि टलेको छ । बाम्बे उच्च अदालतमा बुधबार पनि यो मामिलामा सुुनुवाई हुनेछ ।
सरकारी वकिलहरुले आर्यनलाई जमानत दिइयो भने साक्षीहरुलाई प्रभावित पार्न सक्ने तर्क गरेसँगै उनको जमानत टर्दै आएको छ । आर्यनका वकिलले भने लागुऔषध लिएको र किनबेच गरेको मामिला नभएकाले जमानत दिनुपर्ने तर्क गरेका छन् ।
तर आर्यनले आफूले लागुऔषध लिने गरेको यसअघि नै स्वीकार गरिसकेका छन् । उनले बयानका क्रममा चरेस पिउने बताएका हुन् । उनले भनेका थिए, ‘मैले चरेस पिउँछु ।’
क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा गिरफ्तार भएर जेलमा रहेका आर्यनले ड्रग्स लिने गरेको बताएका हुन् । उनको दशैं जेलमै बितेको थियो ।
अझै पनि उनी जेलमै रहने अनुमान गरिएको छ । छोरा जेल परेपछि शाहरुख खानले धेरैको सहारा लिए पनि छोरा छुट्ने सम्भावना कम रहेको देखिन्छ ।
उनी जेलमा बसेको लामो समय भए पनि गत बिहीबार मात्र पहिलो पटक शाहरुख खान उनलाई भेट्न जेल गएका थिए । आर्थर रोड जेलमा रहेका आर्यनलाई भेट्न शाहरुख बिहीबार बिहान निकै कडा सुरक्षाबीच पुगेका थिए ।
स्रोतहरुका अनुसार आर्यनले बम्बई उच्च अदालतबाट जमानत पाउन मुस्किल छ । किनकि अदालतमा नोभेम्बर १ तारिखदेखि दिपावलीको छुट्टी हुँदैछ ।
अब शुक्रबारभित्रै केही गर्न सकिएन भने उनी दिपावलीमा पनि जेलमै हुनेछन् । त्यसपछि अदालत १४ नोभेम्बरपछि मात्र खुल्नेछ ।