काठमाडौं । लागु औषध काण्डमा मुछिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनको जमानतबारे मंगलबार सुनुवाई हुँदैछ । उक्त जमानतबारे बाम्बे उच्च अदालतमा सुनुवाई हुन लागेको हो ।
लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका आर्यन अहिले जेलमा छन् । उनी यति लामो समय जेलमा बस्लान् भन्ने विरलैले कल्पना गरेका थिए । उनी जेलमा बसेको लामो समय भए पनि गत बिहीबार मात्र पहिलो पटक शाहरुख खान उनलाई भेट्न जेल गएका थिए ।
आर्थर रोड जेलमा रहेका आर्यनलाई भेट्न शाहरुख बिहीबार बिहान निकै कडा सुरक्षाबीच पुगेका थिए ।
क्रुज ड्रग्स पार्टी केसमा उनी पक्राउ परेका थिए । उनको जमानत पनि हुन सकेको छैन । जमानत गत बुधबार पनि खारेज भएको थियो ।
आर्यनका वकिल अमित देसाई र सतीश मानसिन्दे न्यायाधीश नितिन साम्बरेको बेन्चमा पुगेका थिए । तर त्यतिन्जेल उच्च अदालतको बेन्च उठिसकेको थियो ।
त्यसपछि यो सुनुवाई बिहीबार (कार्तिक ९ मा) हुन लागेको हो । स्रोतहरुका अनुसार आर्यनले बम्बई उच्च अदालतबाट जमानत पाउन मुस्किल छ । किनकि अदालतमा नोभेम्बर १ तारिखदेखि दिपावलीको छुट्टी हुँदैछ ।
अब ३ दिनमात्र कामको दिन बाँकी छ । त्यसपछि अदालत १४ नोभेम्बरपछि मात्र खुल्नेछ ।
यसअघि आर्यनले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका थिए । उनले बयानका क्रममा चरेस पिउने बताएका हुन् । उनले भनेका थिए, ‘मैले चरेस पिउँछु ।’
क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा गिरफ्तार भएर जेलमा रहेका आर्यनले ड्रग्स लिने गरेको बताएका हुन् । उनी दशैं अगाडि नै पक्राउ परेका थिए । उनको दशैं जेलमै बितेको थियो ।
अझै पनि उनी जेलमै रहने अनुमान गरिएको छ । छोरा जेल परेपछि शाहरुख खानले धेरैको सहारा लिए पनि छोरा छुट्ने सम्भावना कम रहेको देखिन्छ ।