arrow

हाकिममाथि ठाउँ ठाउँमा हातपात

वैदेशिक रोजगारका महानिर्देशकमाथि कार्यकक्षमै नाराबाजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
karmachari-hatpat.jpg

काठमाडौँ । कार्यालय हातामै र कार्यालय समय भित्रै कर्मचारीमाथि ठाउँ ठाउँमा अभद्र व्यवहार र हातपात हुने गरेको छ । आइतबार मात्र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेमाथि अभद्र व्यवहार भएको छ । 

एकीकृत राप्रपाको महामन्त्री श्यामबहादुर सापकोटाले विभागका महानिर्देशक काफ्लेको कार्यकक्षमै गई उनीमाथि अभद्र व्यवहार गरे र नाराबाजी समेत गरे । तत्कालै विभागका कर्मचारीहरूले प्रहरी बोलाए र प्रहरीलाई सापकोटालाई पक्राउ गर्‍यो । 

विभागका सूचना अधिकारी कमल ज्ञवालीले आइतबार दिउसो महानिर्देशकको कार्यकक्षैमै महानिर्देशकमाथि अभद्र व्यवहार भएको र अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ परेको जानकारी गराए । 

सापकोटा तनहुँका हुन् । उनी आइतबार दिउसो काफ्लेलाई भेट्न काम परेको भन्दै काफ्लेको कार्यकक्षमा पुगेका थिए । कार्यकक्षमा पुग्ने बित्तिकै काफ्लेमाथि अशिष्ट र अमर्यादित व्यवहार गरेका थिए । केही बेर नाराबाजी गरे र चिच्याए पनि । 

केही दिन अघि जनकपुरको खानेपानी तथा ढल निकास कार्यालयका कार्यालय प्रमुख इन्जिनियर राजेश कुशुवाहमाथि सिके राउतका कार्यकर्ताहरूले शरीरभरि हिलो दलेर सहर घुमाएका थिए ।

पोहर साल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यकक्षमै मन्त्रालयका तत्कालीन उपसचिव ऋषि आचार्यमाथि कम्युनिस्ट कर्मचारी नेता जीवन भण्डारीले कार्यकक्षमै हातपात गरेका थिए । प्रहरीले उनलाई केही बेर पक्राउ पनि गर्‍यो । हातपात गर्ने व्यक्ति पहुँचवाला कर्मचारी भएकोले केही बेरमै उनी छुटे ।
 
नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष उत्तम कटुवालले कार्यालय समयमा र कार्यालयभित्रै कर्मचारीमाथि हातपात हुनु आपराधिक कार्य हो भन्दै यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति माथि पनि कारबाही हुनु पर्ने बताए । कर्मचारीहरूको सुरक्षाको लागि आफूहरूले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको उनले जनाए ।

तर कर्मचारीमाथि हातपात गर्ने व्यक्तिहरू भने समाधानको ठाउँ कहीँ पनि ननिस्के पछि पछि बाध्य भएर हाकिममाथि हातपात गर्नु परेको बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ