arrow

क्षतिको अध्ययन गर्न कार्यदल गठन, यस्तो छ मन्त्रिपरिषद्को निर्णय

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
gyanadra-karki-press-meet.JPG

काठमाडौँ । सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल पुनरबीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन दररेटमा १५ प्रतिशतले वृद्धि गरेको छ । बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ