दुर्घटनामा ‘सूर्यवंशम’की नायिकाको मृत्यु, देखाइन्छ फिल्म बारम्बार
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
1k
Shares
काठमाडौँ । अमिताभ बच्चन र सौन्दर्याको मुख्य भूमिका रहेको फिल्म सूर्यवंशम जति बेला हलमा प्रदर्शनमा आएको थियो, त्यति बेला दर्शकलार्ई यो फिल्म खासै मन परेको थिएन । तर, यो टिभीमा सबैभन्दा बढी देखाइने फिल्म हो ।
यो फिल्मबाट दक्षिण भारतीय फिल्मकी नायिका सौन्दर्याले बलिउडमा प्रवेश गरेकी थिइन् । सौन्दर्याको निधन सन् २००४ अप्रिल १७ मा ३१ वर्षको उमेरमा भएको थियो । सौन्दर्या भारतीय जनता पार्टीका उम्मेदवारका लागि निर्वाचन प्रचारका लागि करीमनगर गइरहेकी थिइन्, त्यति बेला बेंग्लोरको जक्कुर एयरफिल्डबाट उडान गरिरहेकी उनको हेलिकोप्टर १ सय फिटसम्म पुगेको थियो ।
त्यसपछि विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा परी सौन्दर्या, उनका भाइ र अन्य दुई जनाको ज्यान गएको थियो । त्यति बेला उनी सात महीनाकी गर्भवती थिइन् ।
सूर्यवंशम भारतीय टिभी च्यानल सेट म्याक्समा अत्यधिक देखाइने गरिएको छ । अमिताभ पनि यो कुरालाई स्वीकार गर्छन् । ग्रामीण भारतमा यो फिल्म मन पराउनेको सङ्ख्या उल्लेख्य रहेको छ ।
यो फिल्म बारम्बार प्रसारण गरिनुको कारण यो फिल्मबारे भएको सम्झौता हो । उक्त च्यानलले हलमा प्रसारण हुने बेलामा नै यो फिल्मको प्रसारणको अधिकार एक सय वर्षसम्मका लागि खरिद गरेको थियो । जसको कारण उक्त फिल्म सो च्यानलमा बारम्बार देखाइन्छ ।