arrow

साफ च्याम्पियनशिप

नेपालको ऐतिहासिक उपाधि भिडन्तमा भारत प्रतिद्धन्द्धी, खुशी दिलाउँदै पद त्याग्ने प्रशिक्षकको चाहना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २८ बिहिबार
mohammad-almutairi-coach.jpg
तस्वीर–प्रशिक्षक अलमुताइरी नेपाल फाइनलमा पुगेपछि खुशीका आँशु चुहाउँदै ।

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको नेपालले अब उपाधिका लागि चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग खेल्नेछ । भारत राउण्ड रोबिन लिगको शीर्ष स्थानमा तथा भारत दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । 

 माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल भिडन्त शनिबार हुनेछ । लिग चरणको खेलमा भने नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । तर यसपटक सशक्त देखिएको नेपालले उपाधि जित्ने आशा प्रशिक्षक मोहम्मद अलमुताइरीको छ । 

अलमुताइरीले राजीनामाको समेत घोषणा गरेका छन् । नेपाल फाइनलमा पुगेर इतिहास रचेसँगै उनले राजीनामा दिने घोषणा गरेका हुन् । यसअघि अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीसँग असन्तुष्टि व्यक्त गर्ने क्रममा उनले फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका थिए । उनले राजीनामा भने बुझाएका थिएनन् । 

बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै अलमुताइरीले पद त्यागको घोषणा गरेका हुन् । उनले नेपाललाई साफको फाइनलमा पुर्याएर इतिहास रचेको र फाइनल आफ्नो अन्तिम खेल भएको बताए ।

उनले भने, ‘मैले साफमा इतिहास बनाएँ । मैले एसिया कपको तेस्रो चरणमा छनोट गराएँ । आज नेपालले मात्र हैन दक्षिण एसियाली क्षेत्रले नेपाली टिमसँग गर्व गर्छ । फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । म त्यसपछि नेपाल फर्किन्न ।’

नेपालले लिगको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनलमा स्थान बनाएको हो ।

यसअघि नेपालले माल्दिभ्सलाई २२ वर्षपछि हराउने क्रममा १–० को जित निकालेको थियो । 

त्यस्तै नेपालले पाँच टोली सहभागी प्रतियोगितामा श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग १–० ले पराजित भएको थियो । 

चौथो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेसँगै ७ अंकका साथ दोस्रो स्थानमा रहादै पहिलो पटक साफको फाइनलमा स्थान बनाएको हो । 

यता सात पटकको च्याम्पियन भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । भारतले अन्तिम खेलमा आयोजक एवं डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई ३–१ ले हरायो र ८ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुग्यो । 

बुधबार राति भएको लिगको अन्तिम खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानवीर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।

लिग चरणमा भारतको ८ र नेपालको ७ अंक हुँदा बाहिरिएको माल्दिभ्सको ६, बंगलादेशको ५ तथा श्रीलंकाको १ अंक रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ