arrow

राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
Futsal-champion-anfa.jpg

पोखरा। घरेलु टोली स्पोर्ट्स क्यासलले पोखरामा सञ्चालन भएको नेपालको पहिलो ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा काठमाडौंको शङ्खमुल फुटसल क्लबमाथि ४–२ अन्तरको जीत निकाल्दै क्यासल च्याम्पियन बनेको हो ।

उपाधि विजेता क्यासलले रु १० लाख पुरस्कारसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता बनेको शङ्खमुलले रु पाँच लाखमा चित्त बुझाउन परेको छ । पहिलो संस्करणको प्रतियोगितामा पोखरेली क्लब स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गरे भने विजय गुरुङले एक गोल गरेका थिए। शङ्खमुलका लक्ष्मण थापा मगर र मणि लामाले समान एक-एक गोल गरेका छन् ।

लिगको उदीयमान खेलाडी स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ घोषित भए । उत्कृष्ट गोल किपर शङ्खमुलका अनिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर फुटसल धरान–५ का विजय श्रेष्ठ, उत्कृष्ट विङ्गर शङ्खमुलका मणि लामा र उत्कृष्ट प्रशिक्षक क्यासलका विष्णु गुरुङ घोषित भए । उनीहरू सबैले जनही रु २५ हजार पुरस्कार पाएका छन् ।

लिगको विजेता तथा उपविजेतासहित पाँच विधामा उत्कृष्ट हुन सफल खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, अखिल नेपाल फुटबल सङ्घ(एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले ट्रफी तथा मेडल पुरस्कार वितरण गरेका थिए । अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदखी सुरु भएको प्रतियोगितामा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ