भैरहवालाई हराउँदै पोखरा फाइनलमा, चितवनको सामना गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
1.4k
Shares
काठमाडौं। पोखरा राइनोजले बजाज पल्सर एभरेष्ट प्रिमियर लिगको फाइनलमा चितवन टाइगर्सको सामना गर्ने भएको छ। दोस्रो क्वालिफायरमा पोखराले भैरहवालाई ७ विकेटले पराजित गरेको हो।
पोखराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। उक्त निर्णयलाई पोखराका बलहरूले कसिलो बलिङ गर्दै सही साबित गरिदिए। भैरहवा निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय १९ रनमा समेटियो। पोखराका शाहन आर्चाचिगे र किशोर महतोले २-२ विकेट लिए।
भेरहवाका लागि कप्तान शरद भेषावकरले ३२ रन बनाए भने आरिफ शेखले २७ रनको योगदान दिएका थिए। त्सयैगरि रोहित पौडेलले १८ र प्रदीप ऐरीले ११ रन बनाएका थिए। पोखराको कसिलो बलिङ आक्रमण सामु भैरहवाका ब्याट्सम्यानहरू खुल्न सकेनन्।
जवाफमा ब्याटिङ गर्न आएको पोखराले १८.२ ओभरमा ३ विकेटको क्षतिमा १ सय २३ रन बनाउँदै फाइनलको यात्रा निश्चित गरेको थियो। भैरहवाको फिल्डिङ राम्रो नरहनाले पनि पोखराले सहज जित हात पारेको थियो। केहि क्याच छाड्नु र मिस फिल्डिङ भैरहवाका लागि भारी पर्न गयो।
पोखराका शाहन आर्चाचिगेले आउट नभई ५३ रन बनाए भने विपिन रावलले ४० रनको योगदान गरेका थिए। भैरहवाका भुवन कार्कीले २ विकेट लिन सफल भएका थिए। खेलका प्लेयर अफ म्याच शाहन आर्चाचिगे घोषित भए।