arrow

साढे ३३ किलो सुन तस्करी प्रकरण 

गोरेसहित ६ जनालाई जन्मकैद, प्रहरीलाई न्याय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
gore1.jpg

काठमाडौँ। साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका चूडामणि उप्रेती गोरेसहित ६ जनालाई जन्म कैदको सजाय सुनाइएको छ ।

मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका गोरेसहित ६ जना लाई जन्मकैदको फैसला सुनाएको हो ।

सो प्रकरणमा मुछिएका ४८ जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा प्रहरी अधिकारीहरूसमेत छन् ।

सो घटनामा जन्मकैद पाउनेमा गोरे भनिने उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

मोरङ अदालतका न्यायाधीश भरत लम्सालसहितको इजलासले सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको र त्यसमध्ये ६ जनालाई जन्मकैदको फैसला भएको अदालतका श्रेस्तेदार टीकेन्द्र वीरजंग राणाले जानकारी दिए ।

उनका अनुसार सो प्रकरणमा मुछिएका थप दुईमध्ये एकलाई ३ वर्ष तथा अर्का एकलाई ६ महिना कैद सजाय सुनाइएको छ ।

सो घटनाका प्रतिवादी ७३ जनामध्ये फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार राणाले जानकारी दिए ।

सो घटनामा मुछिएका प्रहरीहरूलाई भने जिल्ला अदालतले न्याय दिएको हो । अदालतबाट सफाइ पाउनेमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।

यसै गरी प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल ल्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी हराएको थियो । त्यसपछि भरिया सनम लामाको हत्या भएपछि घटना बाहिर आएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ