arrow

राजा भर्तृहरिको वैराग्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
bhurtehari1.jpg

काठमाडौँ । एक ब्राह्मणले गङ्गाको भक्ति गरे । कठिन तपस्या गर्नाले गङ्गाजी प्रकट भए अनि ब्राह्मणलाई एउटा अमर फल दिए। ब्राह्मणले यसमा के गुण छ भनेर सोधे । गङ्गाजीले भने, 'यो अमर फल खायो भने बुढेसकाल आउँदैन, मानिस मर्दैन, भोक-प्यास लाग्दैन।'

ब्राह्मणले मनमा सोचे, 'यदि मैले यो अमर फल खाएँ भने अमर भएर सधैँ भीख नै त मागिरहने छु, राजा भर्तृहरि ठुलो न्याय प्रिय तथा धर्मात्मा राजा छन्, उनको आत्मा पवित्र छ । यदि उनले यो अमर फल खाए भने प्रजालाई सदा न्याय मिलिरहने छ ।'

ब्राह्मण त्यो अमर फल लिएर राजाकोमा गए अनि त्यो फल राजालाई दिए । राजाले सोधे, 'यो फलमा के गुण छ?' ब्राह्मणले भने, 'यो खायो भने मानिस अमर हुन्छ, उसलाई भोक-प्यास लाग्दैन अनि बुढेसकाल आउँदैन ।' ब्राह्मण फलको बदलामा दक्षिणा लिएर आए।

उता राजाले अमर फल राखे तर राजाको मनमा विचार आयो, यदि मैले यो खाएँ भने अमर हुनेछु, म मेरी रानी पिंगलालाई औधी प्रेम गर्छु । यस कारण यदि रानी मरी भने म सदा दुःखी रहने छु ।

राजाले त्यो फल लगेर रानीलाई दिए । उता रानीको प्रेम राजासँग होइन घोडाको सइससँग थियो, उनले फल लगेर सइसलाई दिइन्। फेरि उता सइसको प्रेम रानीसँग होइन एक नगरवधूसँग थियो, सो उसले अमर फल लगेर नगर बधू (वेश्या) लाई दिए ।

अब नगरवधूले सोचिन्, 'यदि मैले यो फल खाएर अमर भए पनि सारा जीवन यस्तो नीच कर्म नै त गरिरहने छु, यस कारण यो फल त राजा भर्तृहरिले खानु पर्ने हो, किनभने उनी ठुलो धर्मात्मा राजा छन् ।' नगरवधू अमर फल लिएर राज दरबारमा गइन् अनि राजा भर्तृहरिलाई त्यो फल भेट चढाइन् ।

त्यो अमर फल देखेर राजाले नगरवधूलाई भने, 'साँचो-साँचो बताऊ, यदि साँचो बतायौ भने तिम्रो दोष माफ गर्नेछु अनि यदि झूटो बोल्यौ भने तिम्रो नराम्रो गति हुने छ। बताऊ यो फल तिमीलाई कहाँ मिल्यो?'

नगरवधूले भनिन्, 'महाराज! हजुरको घोडाको सइस मेरोमा आउँछ, यो फल उसैले मलाई दिएको हो।'

सइसलाई दरबारमा बोलाइयो। उसले भन्यो, 'महाराज! मलाई मार्नुहोस् वा छोड्नुहोस्, यो फल मलाई रानीले दिएकी हुन्, किनभने रानीले मलाई प्रेम गर्छिन्।'

 राजा रानीको महलमा गए अनि रानीलाई सोधे,'मैले दिएको अमर फल के तिमीले खायौ?' रानी भन्छिन्, 'हे महाराज! मैले त्यो फल खाएँ।'

राजा भर्तृहरिको आत्मा महान् थियो। मनमा ठेस लाग्यो, 'अहो! जसलाई मैले आफ्नो प्राणभन्दा बेसी चाहन्थेँ, उसले त अरू कसैलाई चाहँदी रहिछे। घोडाको सइसलाई चक्रवर्ती राजाकी रानी पाएर पनि सन्तोष छैन । धिक्कार छ यो मायालाई। झूटो, ठग छ यो माया ।'

 त्यही समय राजा भर्तृहरि राज्यको भार आफ्नो सानो भाइ विक्रमलाई सुम्पेर गुरुको शरणमा गए। विक्रमादित्य तिनै हुन् जसको नामबाट नेपालमा विक्रम सम्बत चलिरहेको छ ।

पछि भर्तृहरिले गुरुको कृपा द्वारा अमर पद पाए। मायाको अन्धकारमा मनुष्यले सधैँ दुःख उठाउँछ । गुरुको कृपाले नै जीव यस मायाको जालबाट निस्कन सक्छन् ।
बन्दौं गुरु पद कंज कृपा सिंधु नर रूप हरि।
महा मोह तम पुंज जासु वचन रवि कर निकर।।
गुरु मनुष्य रूपमा साक्षात् हरि हुन्छ । हरि माने पापहरू हरण गर्नेवाला, दूर गर्नेवाला।
गुरु गोविन्द दोऊ एक हैं, दूजा सब आकार।
आपा मिटे गुरु भजे, तव पावे करतार।।
राम कृष्ण से को बड़ा तिन्हू तो गुरु किन्ह।
तीन लोक के वे धनी, सो गुरु आगे आधीन।।
गुरुले ज्ञान दिन्छन् जुन ज्ञान द्वारा मायाको अन्धकार दूर हुन्छ । यदि काँचो चना रोप्यो भने उम्रेर धेरै फल्छ, तर त्यही यो चनालाई भूटेर रोप्यो भने उम्रदैन, त्यसको उम्रने शक्ति हराउँछ । प्रेम उस्तै प्रकार गुरुबाट ज्ञान मिलेपछि शुभ र अशुभ कर्मरूपी चनामा कर्मको फल दिने शक्ति रहँदैन। यहि कारण ज्ञान पाएर जीव जन्म-मरणको दुःखहरूबाट मुक्त हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ