arrow

साइड इफेक्टः एमालेको कर्मचारी संगठनमा पहिरो जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
nijamati-karmachari.jpg
तस्वीर– सांकेतिक ।

काठमाडौं । नेकपा (एमाले) विभाजन भएपछि यसको सोझो असर धेरै ठाउँमा परेको छ । उक्त साइड इफेक्ट एमालेको कर्मचारी संगठनमा पनि परेको छ । २०४७ सालदेखि अहिलेसम्म नफुटेको एमाले नजिक पेशागत संगठन नेपाल निजामती कर्मचारी संगठन यसपटक फुट्ने अवस्थामा पुगेको छ । 

२०४७ वैशाख ७ गते नेपाल निजामती कर्मचारी संगठन स्थापना भएको थियो । २०५४ सालमा एमाले विभाजित भइ नेकपा (माले) निर्माण हुँदा पनि कर्मचारी संगठनमा विभाजन आएको थिएन । यसपटक कर्मचारी संगठनमा ठूलै पहिरो जाने सम्भावना देखिएको छ ।  

कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाले असोज २ गते काठमाडौमा भेला बोलाएका छन् । उनी केपी शर्मा ओलीसँग निकट मानिन्छन् । उक्त भेलालाई महासचिव रेवन्त गौतम लगायत माधवकुमार नेपाल (नेकपा एकीकृत समाजवादी) निकट पक्षले स्थगित गर्न आग्रह गरेको छ । 

गौतम माधव नेपाल पक्षसँग निकट मानिन्छन् । असोज २ को भेलालाई स्थगित नगरेमा दुर्भाग्य हुने गौतम पक्षधरको भनाइ छ । ‘हाम्रो संगठन एमालेको भ्रातृ संगठन होइन । यो पेशागत संगठन हो, गौतमले भने, ‘पेशागत संगठन भएकोले भातृ संगठन  जस्तो  पार्टी फुटेपछि फुट्ने, पार्टी जुटेपछि जुट्ने भन्ने हुदैन ।’ 

गौतमले विज्ञप्ति निकाली असोज २ गते बोलाइएको भेला स्थगन गर्न माग गरेका छन् । देवकोटाले संगठनमा छलफल नगरी एकलौटी किसिमबाट असोज २ गते भेला बोलाएको गौतमले जनाएका छन् । 

संगठनलाई पार्टीको भ्रातृ संगठन जस्तै गलत बाटोमा हिँडाउने प्रयास नगर्न गौतमले चेतावनी दिएका छन् । यसअघि अध्यक्ष केदार देवकोटाले सामाजिक सञ्जालमार्फत् असोज २ गते संगठनको केन्द्रीय बैठक तथा भेला बोलाएको जानकारी गराएका थिए । 

संगठनमा आवद्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरू आधा जसो ओली पक्षधर र आधाजसो नेपाल पक्षधर मानिन्छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ