काठमाडौं । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामाथि आँच आउने गतिविधि नगर्न भनी गृहमन्त्रालयले विज्ञप्ति जारी गरी आपत्ति जनाएपछि नेकपा(एकिकृत समाजवादी)पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू आक्रामक बनेको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको थियो ।
दार्चुलाका जयसिंह धामीको तुईन काटेर हत्या गरेको तथा नेपाली भू-भागमा सैन्य हेलिकप्टर उडाएको बिरोधमा अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो । तर सोमबार उक्त विज्ञप्तिकै विरोधमा विज्ञप्ति नै जलाउने कार्यक्रम तय भएको अनेरास्ववियूका सचिव अशोक थापाले बताए ।
उनले आज सोमबार अपरान्ह ३ बजे बानेश्वरस्थित मिनभवन क्याम्पस अगाडि गृहको विज्ञप्ति जलाउने कार्यक्रम तय भएको बताए । मन्त्रालयले छिमेक मुलुकहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको भए पनि विद्यार्थी संगठनले त्यसलाई आपत्तिजनक भनेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आफ्नो पार्टीको सर्मथन भए पनि गलत काम गर्दै अघि बढेकाले आन्दोलनमा उत्रिनु परेको सचिब थापाले जानकारी दिए । गृह मन्त्रालयले अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध अभिव्यक्ति दिनेलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेपछि पुनः उस्तै खाले विज्ञप्ति आएपछि विद्यार्थी संगठनहरुले सार्वजनिक रुपमा विरोधमा उत्रिएका हुन् ।
यसअघि भदौ १८ गते पनि अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडिको नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेको थियो । सो क्रममा नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेको थियो । दुई विज्ञप्तिका कारण देउवा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै सार्वजनिक रुपमा आलोचना समेत भइरहेको छ ।