नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले राखे कीर्तिमान
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
706
Shares
फाइल तस्विर।
काठमाडौं। भारतविरुद्धको आजको खेलसँगै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले पहिलो खेल कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेलेका थिए ।
उचाइ ६ फिट २ इन्च भएका उनी १८ वर्षको उमेरमा नै राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । भारतविरुद्धको आजको खेलसँगै राष्ट्रिय टोलीबाट चेम्जोङले खेलेको खेलको सङ्ख्या ७४ पुगेको छ ।
यसअघि बिराज महर्जनको नाममा राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेलेको कीर्तिमान थियो । महर्जनले ७३ खेल खेल्दै खेलबाट संन्यास लिएका थिए । बिहीबार भारतविरुद्धको पहिलो खेल खेल्दै चेम्जोङले महर्जनसित बराबरी गरेका थिए । उनले सन् २०१८ यता नेपाली टोलीको कप्तानी गर्दै आएका छन् ।
उनको नेतृत्वमा नेपालले एएफसी सोलिडारिटी कप र थ्री नेसन्स कपको उपाधि जितिसकेको छ । चेम्जोङ दक्षिण एसियाकै उत्कृष्ट गोलकिपरका रूपमा चिनिन्छन् ।