arrow

सर्वोत्कृष्ट कर्मचारीको खोजी हुँदै, ४ वर्ष देखि सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
pm-office-singhadurbar.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले यस वर्ष दिने सर्वोत्कृष्ट कर्मचारी पुरस्कारको लागि उपयुक्त कर्मचारीको खोजी भइरहेको छ। आगामी भदौ २२ गते निजामती दिवसको अवसरमा सरकारले हरेक वर्ष सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारी तथा निजामती कर्मचारी पुरस्कार दिँदै आएको छ।

सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार दुई लाख, उत्कृष्ट कर्मचारीको पुरस्कार राशि एक लाख र निजामती कर्मचारीको पुरस्कार ५० हजार रुपैयाँको छ। सर्वोत्कृष्ट एक जनालाई, उत्कृष्ट ३० जना र निजामती पुरस्कार ३० जना कर्मचारीलाई दिने गरिएको छ।

पछिल्लो ४ वर्ष देखि सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेको छैन। सर्वोत्कृष्ट कर्मचारी नभेटाउँदा सरकारले उत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्दै आएको छ। अहिले सरकारको नेतृत्व फेरिएको छ। स्रोतका अनुसार, यस वर्ष सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिने तयारी भएको छ। यसका लागि उपयुक्त कर्मचारी खोजी भइरहेको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो।

केपी ओली नेतृत्व सरकारको पालामा निजामती पुरस्कार पाउनेहरूमा धेरैजसो ओलीका गुणगान गाउने, तथा ओली निकट कर्मचारी सङ्गठनसँग आबद्ध कर्मचारीहरू हुन्थे। यस पटक सकारले कसरी छनौट गर्छ, त्यो हेर्न बाँकी छ।

यस वर्ष सरकार निजामती दिवसको नारा व्यावसायिक र सृजनशील प्रशासन विकास,संवृद्धि र सुशासन राखेको छ। भदौ १३ गते मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा बसेको बैठकले निजामती दिवसको नारा तय गरेको थियो।

यसअघि सङ्घीय मन्त्रालयले सार्वजनिक सूचना निकालेर निजामती दिवसको सम्भावित नारा माग गरेको थियो। सङ्घीय मन्त्रालयका अनुसार मन्त्रालयले सूचना निकाले पछि  एक सय १८ वटा नारा प्रस्ताव गरिएका थिए। एक सय १८ वटा नाराबाट एउटा नारा छानिएको मन्त्रालय स्रोतले बतायो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ