सन् २०१७ मा बेपत्ता भएका उइगर व्यापारी सिन्जियाङको हिरासतमा रहेको खुलासा
एजेन्सी
प्रकाशित २०७८ भदौ १५ मंगलबार
2.2k
Shares
वासिङ्टन। चार वर्षअघि सन् २०१७ मा बेपत्ता भएका एक उइगर चीनको सिन्जियाङस्थित हिरासत केन्द्रमा रहेको खुलेको छ ।अमेरिकाबाट फर्किए लगत्तै उनी बेपत्ता भएका थिए ।
चिनियाँ अधिकारीहरूद्वारा उत्तर पश्चिमी चीनको सिनजियाङ क्षेत्रमा एक नजरबन्द शिविरको हिरासतमा उनलाई राखिएको रेडियो फ्रि एसियाले जनाएको छ ।
३५ वर्षीय महमुजान मेम्तेजनलाई अधिकारीहरूले २०१७ मा नियन्त्रणमा लिएका थिए । उनलाई नियन्त्रणमा लिए लगत्तै सिन्जियाङमा रहेका उइगरहरूलाई राखिएको आन्तरिक शिविरहरूको एक विशाल नेटवर्क हिरासत शिविरमा राखिएको थियो ।
घर जग्गा लगानीकर्तासमेत रहेका उनलाई मेहतेजान अलकुत पनि भनिन्छ । उनी येन्गिसहेर (चिनियाँ, शुले) काउन्टी, काशगर (काशी) प्रान्तमा बस्थे, जहाँ उने कश्गर अलकुत सम्पत्ति कम्पनी चलाउँथे ।
चिनियाँ अधिकारीहरूले धार्मिक उग्रवाद र आतङ्कवादी गतिविधिलाई रोक्न अल्पसङ्ख्यक समूहका सदस्यहरूलाई निगरानी, नियन्त्रण गर्ने अभियान चलाएका छन् । उनीहरूले सिन्जियाङमा धेरै उइगर व्यवसायी, बुद्धिजीवी र सांस्कृतिक र धार्मिक व्यक्तिहरूलाई लक्षित गरी नियन्त्रण अभियान चलाएका छन् ।
महमुतजन र अन्य उद्यमीहरू सन् २०१६ को अप्रिल ८ देखि २२ मा अमेरिकाको एक व्यापार यात्रामा गएका थिए । उनीहरू अमेरिकाबाट फर्किएपछि चिनियाँ अधिकारीहरूले नियन्त्रणमा लिएका थिए ।
सिनजियाङमा उइगर मुस्लिमहरूलाई सामूहिक हिरासत शिविरमा पठाइएको थियो। उनीहरूको धार्मिक गतिविधिहरूमा हस्तक्षेप गरी उनीहरूलाई जबरजस्ती श्रम लगायत दुर्व्यवहारको सिकार बनाइएको आरोप लाग्दै आएको छ । चीनको उक्त गतिविधिहरूले गर्दा विश्वव्यापी रूपमा निन्दा हुँदै आएको छ ।
अर्कोतर्फ, बेइजिङले सिनजियाङमा उइगरहरू विरुद्ध मानव अधिकार हननमा संलग्न रहेको कुरालाई ठाडै अस्वीकार गरेको छ । अमेरिकाले जनवरीमा सिन्जियाङबाट कपास र टमाटर उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ र क्यानाडा र युनाइटेड किंगडमले पनि त्यस्तै गतिविधि गरेको छ ।