arrow

सरकारी वकील कार्यालय पश्चिम नवलपरासीले फछ्र्यौट गरेका ८४ प्रतिशत मुद्दा सफल

पीडितको न्यायका लागि सशक्त बहस पैरवी र प्रतिरक्षा गरेका छौं: जिल्ला न्यायधिबक्ता सिंजाली

logo
भरत प्रधान
प्रकाशित २०७८ भदौ ८ मंगलबार
adalata-danda.jpg.jpeg

नवलपरासी । जिल्ला सरकारी वकील कार्यालय पश्चिम नवलपरासीले आर्थिक बर्ष ०७७/०७८ मा फछ्र्यौट गरेका ८४ प्रतिशत मुद्दा सफल भएको छ । कार्यालयको आ.ब. ०७७/०७८ को बार्षिक प्रतिवेदन अनुसार जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र अन्य निकाय तर्फका सरकारवादी मुद्दामा फछ्र्यौट भएका ८४ प्रतिशत मुद्दा सफल भएको हो । कार्यालयले आ.ब.०७७/०७८ मा कुल २ सय ४५ थान मुद्धा फछ्र्यौट गर्दा मुद्दाको सफलता दर ८४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयले आ.ब. ०७७/०७८ मा बहस पैरवी र प्रतिरक्षा गरेका कुल ६ सय ८३ थान मुद्दा मध्ये फछ्र्यौट भएका २ सय ४५ थान मुद्दामा ८४ प्रतिशत मुद्दा सफल भएको जिल्ला सरकारी वकील कार्यालय पश्चिम नवलपरासीका जिल्ला न्यायधिबक्ता चन्द्र बहादुर सिंजालीले जानकारी दिए ।

कार्यालयले बहस, पैरवी र प्रतिरक्षा गरेका बांकी ४ सय ३८ थान मुद्दा फछ्र्यौटका लागि अदालती प्रकृयामा रहेको जिल्ला न्यायधिबक्ता सिंजालीले बताए । प्रतिवेदन अनुसार जिल्ला प्रशासन कार्यालयतर्फ बहस, पैरवी र प्रतिरक्षा गरिएका मुद्दाको संख्या २ सय ४३ रहेका छन् । 

जसमा ६० थान मुद्धा फछ्र्यौट भएका छन् भने बांकी १ सय ८३ थान मुद्दा फछ्र्यौटका लागि अदालती प्रकृयामा रहेका छन् । यस्तै कार्यालयले जिल्ला अदालत तर्फका ३ सय ६८ थान मुद्दाको बहस पैरवी र प्रतिरक्षा गरेको छ । जसमा १ सय ८१ थान मुद्दा फछ्र्यौट भएका छन् भने बांकी १ सय ८७ थान मुद्दा फछ्र्यौटका लागि अदालती प्रकृयामा रहेको कार्यालयले जनाएको छ । यस्तै अन्य न्यायिक तथा अर्धन्यायिक निकायतर्फ ७२ थान मुद्दाको बहस पैरवी र प्रतिरक्षा गरिएको छ । जसमा ४ मुद्दा फछ्र्यौट भई बांकी ६८ थान मुद्दा फछ्र्यौटका लागि अदालती प्रकृयामा रहेको सिंजालीले बताए ।

कार्यालयले आ.ब.०७७/०७८ मा फछ्र्यौट गरेका कर्तब्य ज्यान, लागुऔषध सेवन तथा ओसारपसार, जबरजस्ती करणी, बहुविवाह, कुटपीट, अपहरण तथा शरीर बन्धक, चोरी तथा लुटपाट, हात हतियार तथा खरखजना, किर्ते जालसाझी तथा ठगी, वन पैदावर, अभद्र ब्यबहार, बैकीगं कसुर, सवारी ज्यान, आत्महत्या लगायतका मुद्दामा ८४ प्रतिशत मुद्दा सफल भएको जिल्ला न्यायधिबक्ता चन्द्र बहादुर सिंजालीले बताए । 

जिल्ला न्यायधिवक्ता सिंजालीका अनुसार कार्यालयले आ.ब. ०७७/०७८ मा धेरै संख्यामा बहस पैरवी र फछ्र्यौट गरेको मुद्दामा लागुऔषध ओसापसार तथा बिक्री बितरण कसुर रहेको छ । जसमा आगुऔषध ओसारपसार तथा बिक्री बितरण मुद्दाको फछ्र्यौट संख्या ३९ रहेको छ । यस्तै कार्यालयले धेरै बहस र फछ्र्यौट गरेका अन्य मुद्दाहरुमा ज्यान मुद्दा ३४, जबजस्ती करणी मुद्दा २७ र चोरी तथा लुटपाट मुद्दा २२ थान रहेका छन् ।

सिंजालीका अनुसार कार्यालयको तर्फबाट गरिएका मुद्दाको बहस, पैरवी र प्रतिरक्षा दर बढी भएपनि मुद्दाको फछ्र्यौट दर भने कम रहेको छ । अदालतले तोकेको समयमा साक्षीहरु उपस्थित नहुने, शुरुवाती प्रकृयामा हो भनि बयान दिएका साक्षीले पछि गएर होईन भनि बयान दिने, झिनो सबुद र प्रमाणका आधारमा मुद्दाको बहस, पैरवी र प्रतिरक्षा गर्नुपर्ने कारणले गर्दा मुद्दाको फछ्र्यौटमा ढिलाई र फछ्र्यौट संख्या कम हुने गरेको सिंजालीको भनाई छ ।

कार्यालयले कुनै पनि नागरिक माथी हुने अपराधमा पीडितका पक्षमा मुद्दा चलाउने, पीडितको पक्षमा वकालत गर्ने, पीडितको न्यायको लागि अदालत धाउने र पीडितलाई न्याय दिलाउन हरसम्भव प्रयास गर्ने सिंजालीले बताए । “हामीले सरकारी वकीलको हैसियतले पीडितको न्यायका लागि सशक्त बहस, पैरवी र प्रतिरक्षा गरेका छौं ।, ‘पीडितलाई न्याय दिलाउन कुनै कसुर बाँकी राखेका छैनौ’,सिंजालीले भने ।

कार्यालयले अपराधको अनुसन्धान, अभियोजन र न्याय निरुपणमा सरकारी वकीलको भूमिकालाई प्रभावकारी वनाउन नवलपरासी जिल्ला अदालतसंग छलफल, अन्र्तक्रिया र सहकार्य गर्दै आएको सिंजालीले बताए । यस्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सरकारी निकाय तथा स्थानीय समुदायसंग समेत छलफल तथा अन्र्तक्रिया गरिएको उनको भनाई छ ।

सरकारी वकीलको संगठन संरचना र सरकारी वकील कार्यालयले सम्पादन गर्ने काम कारवाहीका बारेमा समुदायलाई जानकारी गराउने उद्धेश्यले कार्यालयले जिल्लाका बिभिन्न स्थानमा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थाको बारेमा सचेतना, छलफल र अन्र्तक्रिया समेत गरेको सिंजालीले बताए ।

कार्यालयले घरेलु हिंसा भएमा के कसरी कानुनी उपचार प्राप्त गर्न सकिन्छ, अपराधको उजुरी, दर्ता र अनुसन्धानको कार्यविधी के कसरी हुन्छ, अपराधको सत्यतथ्य खोजमा आम नागरिकको कस्तो भूमिका रहन्छ, मुद्दाको सफल र असफलतामा कस्को कस्तो भूमिका रहन सक्छ, सरकारी वकीलको संगठन संरचना कस्तो हुन्छ र सरकारी वकीलले के कस्तो कार्य सम्पादन गर्दछ भन्ने विषयमा समेत जानकारी दिने गरेको उनले बताए ।

सिंजालीका अनुसार सरकारीवादी फौजदारी मुद्दा भनेको के हो, त्यसको अनुसन्धान, अभियोजन कस्ले गर्छ र उक्त कार्यमा समुदायको के कस्तो भुमिका रहनु पर्छ भन्ने सम्वन्धमा समेत स्थानीयलाई जानकारी दिने गरिएको छ । सरकारी वकील हौं भनेर गर्वका साथ काम गर्ने र समुदायसंग सरकारी वकील कार्यक्रमलाई बिशेष प्राथमिकता दिने योजनाका साथ कार्यालयले काम गरेको जिल्ला न्यायधिबक्ता सिंजालीले बताए ।

यसअघि अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत रहेका सिंजाली गत २०७७ मंसिरमा जिल्ला न्यायधिबक्ताका रुपमा जिल्ला सरकारी वकील कार्यालय पश्चिम नवलपरासी आएका हुन् । कार्यालयमा न्यायधिबक्ता सिंजाली सहित हाल ९ जना कर्मचारी कार्यरत रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ