काठमाडौं । राजेश हमालको नाममा अर्को चलचित्र निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा चलचित्र बनाउन लागेका हुन् ।
यस चलचित्रमा हमाललाई अतिथिको भूमिकामा पर्दामा उतार्ने तयारी निर्माण पक्षले गरेको छ । पहिले ‘मेरो राजेश दाइ’ नामक चलचित्र निर्माण भएको थियो ।
विक्रम लामाले निर्देशन गर्ने चलचित्रमा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।
चलचित्रको नामको विषयमा पनि राजेश हमालले बिहीवार आफ्नो निधो दिनेछन् । मौखिक रुपमा नाम प्रयोग गर्ने सहमति भए पनि कागजी सम्झौता हुन बाँकी रहेको निर्माता भुषालले जानकारी दिएका छन् । चलचित्र आउँदो भदौ २० गते धनगढीबाट छायांकन शुरु हुन लागेको छ ।