arrow

बिना कारण ४० बर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसादको स्वास्थ्य अवस्था खस्कियो, मान्छेहरुसँग झम्टन थाले

सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
durgaaa.jpg

काठमाडौं । ४० बर्ष भारतीय जेलमा विताएर नेपाल ल्याइएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको मानसिक अवस्था झनै विग्रदै गएको छ ।

माई नगरपालिका–१० लुम्बाकमा परिवारसँगै बस्दै आएका उनको पटक पटक गरिएको उपचारले स्वास्थ्यमा खासै सुधार आउन सकिरहेको छैन् । उनी गत चैत ८ गते घर फर्किएका हुन्।

दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले हाम्राकुरासँग भने,‘घरमा ल्याएपछि गरिएको उपचारपछि शुरुमा केही सुधार हुँदै थियो । तर पछिल्लो केही सातादेखि उहाँको अवस्था अत्यन्तै जटिल भइरहेको छ’ उनले भने,‘शारीरिक अवस्था ठिकै छ । चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भनेका थिए । तर मानसिक अवस्था झनै बिग्रिंदै गएको छ ।’

बिनाकसुर ४० वर्ष जेलमा विताउँदा यातना भोगेका उनीमा बोलीचाली र व्यवहार असहज बनेको छ । भतिज गोपाल भन्छन्,‘उहाँ हिजोआज २-३ घन्टासम्मको पैदल यात्रा हिड्ने, सुत्ने कोठामा पिसाब गर्ने, जे पायो त्यही खाने, कुद्ने, अश्लिल शब्दहरु बोल्ने र जेलमै पुर्याइदे भन्ने गर्नुहुन्छ’,उनले भने,‘त्यति मात्र होइन परिवारका सदस्य र बाहिरका मान्छेहरुसँग झम्टने पनि गर्न थाल्नुभएको छ । घर परिवारमै जोखिम आउन थालिसकेको छ ।’

दुर्गा प्रसाद परिवारका सदस्यहरुले सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन् । घरमा खाना खुवाउन, लुगा लगाउन, सरसफाई लगायतका काम गराउन समस्या भइरहेको छ । प्रदेश सरकार लगायत विभिन्न संघ संस्थाको सहयोगमा गत बैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा उनको उपचार भए पनि अहिले अवस्था विग्रदै गएको परिवारका सदस्यहरुको भनाइ छ ।

दुर्गाप्रसादको उपचारका लागि नेपाल बाहिर लानुपर्ने अवस्था आएको छिमेकीहरुले बताउने गरेका छन् । तर उपचारका लागि परिवारलाई खर्चको अभाव छ । ‘हामी बैकल्पिक उपचारको खोजीमा छौं । विभिन्न निकायहरुमा सहयोगका लागि हारगुहार गरिरहेका छौं । आश्वासन पाएका छौं, सहयोग पाएका छैनौं,’भतिज गोपालले भने ।

दुर्गाप्रसादलाई १ नम्बर प्रदेश सरकारमार्फत गत बैशाखमा विराटनगरस्थित बिराट मेडिकल कलेजमा १७ दिन अस्पतालमै राखेर उपचार गरिएको थियो । त्यस्तै माई नगरपालिकाले ५० हजार नगद र यातायात खर्च १७ हजार रुपैयाँ प्रदान गरेको थियो । तर उक्त उपचार पर्याप्त नभएको परिवारको गुनासो छ । उनलाई मानसिक अस्पताल वा सुधार गृहमा राख्नुपर्ने अवस्था आएको परिवारको भनाइ छ ।

विना कारण ४० बर्षसम्म जेलमा यातना दिएवापत कलकत्ता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिए पनि तिम्सिना परिवारका लागि क्षतिपूर्ति दिलाउन नेपाल सरकारले खासै पहल गरेको छैन् ।  उक्त मुद्दामाथि फैसला गर्दै कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिइसकेको छ । तर नेपाल सरकारले गम्भीर रुपमा पहल नगरेको परिवारको गुनासो छ ।

विश्व सेवा विस्तार नामक उद्धार संस्था साथै सञ्चारकर्मीहरुको पहलमा दुर्गाप्रसाद कोलकात्तास्थित दमदम जेलबाट मुक्त भएका हुन् । इलामको मंगलबारे बजारमा तोरी बेच्न भनी हिंडेका उनी रोजगारीको शिलशिलामा दार्जिलिङ पुगेका थिए । दार्जिलिङ्ग पुगेर चिया बमानमा काम गर्दै गर्दा हत्याको अभियोगमा जेल परेका थिए । १९८० मा पक्राउ परेका दुर्गाप्रसादले लगभग ४१ वर्ष भारतीय जेलमा विताउनु परेको थियो ।

२०३७ सालमा हराएका दुर्गाप्रसादका बारेमा लामो समय परिवारलाई पत्तो थिएन । करिब एक दशकअघि भारतबाट उनले घरमा चिठ्ठी लेखेपछि परिवारलाई थाहा भएको थियो । उनका विरुद्ध दार्जिलिङ प्रहरीमा नैन घलेले उजुरी हाले पनि जाहेरवाला कुनै अड्डा/अदालतमा उपस्थित नहुँदा आरोप प्रमाणित त भएन नै सुनुवाइसमेत नहुँदा अनाहाकमा जेल जीवन विताउनु परेको हो ।

जेलमै रहेको थाहा पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने गरी गत चैत ७मा रिहा गरेको थियो । चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्नसक्ने रिपोर्ट दिएका थिए । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।

१० वर्षअघि दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्को मुद्दामा गत जनवरीमा जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए । त्यसपछि उनले भारतकै वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए ।

यस्तो खबर आएपछि रेडियोले नेपालका विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो । जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो ।

दुर्गाप्रसादको परिवारमा खुशीसँगै दुःख पनि उस्तै: अब क्षतिपूर्तिको पहल कसले गरिदिने ?

४० वर्ष भारतीय जेल जीवन विताएर रिहा भएका दुर्गाप्रसादको उपचार शुरु

दुर्गाप्रसादले पाए नेपाली नागरिकता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ