arrow

मृतावस्थामा भेटिएकी खेट्टी मल्लबारे थप अनुसन्धान गर्दै प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
dead-body-parashi.jpg

बैतडी । बैतडीको मेलौलीमा मृत फेला परेकी महिला बारे थप अनुसन्धानमा प्रहरी जुटेको छ । प्रहरीले भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका-३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल यही साउन ८ गते बैतडीको मेलौली नगरपालिका-७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् ।

महिलाको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा तथा भिसेरा परीक्षणका लागि पठाइएको हो । उनले भने, “स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको छ, रिपोर्ट आउन बाँकी छ ।”

ती महिलाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षण रिपोर्टमा भने हृदयाघातका कारण मृत्यु भएको देखाएको जनाइएको छ । महिलाको शरीरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही पनि थिएन ।

प्रहरी निरीक्षक शाहीले भने, “हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट आए पनि हामीले कलडिटेल, उक्त दिन उनी क-कसको सम्पर्कमा थिइन् लगायतका विषयमा थप अनुसन्धान गर्दैछौँ ।” साउन ७ गते घरबाट माइतीघर बैतडीको मेलौली-५ सेरी आउन लागेको थिइन् उनी माइतीघर नपुग्दै बीच बाटोमै मृतावस्थामा फेला परेकी हुन् । मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ