तुइन काट्ने भारतीय पक्षसँग स्पष्टीकरण सोध्न र भारतीय ज्यादती रोक्न संयुक्त विद्यार्थी गठबन्धनको माग
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
876
Shares
काठमाडौं । सत्तारुढ गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले सरकारलाई चार बुँदे मागसहितको ज्ञापन पत्र पेश गरेका छन् ।
उनीहरुले दार्चुलाको ब्याँस गाउँपालिका-२ मालघाटका जयसिंह धामी विदेश जानका लागि भारतीय शसस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएको घट्नाका विषयमा भारतीय अपराधिक कार्यको विरोध गर्दै भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्ने तथा घट्नाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र भारतीय ज्यादती रोक्न पहिलो बुँदामार्फत संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।
त्यस्तै मध्यपश्चिमान्चल विश्वविद्यालयमा भएको वेथिती, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाहीको माग राखिएको छ । त्यस्तै विश्वविद्यालयमा उपकुलपति र पदाधिकारीहरु राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्दा भ्रष्टाचार मौलाएकाले भागभण्डा बन्द गरी खल्ला प्रतिस्पर्धाबाट योग्यता, क्षमता र विज्ञताको आधारमा नियुक्ती गर्न माग गरिएको छ ।
गठबन्धनमा आबद्ध नेविसंघका अध्यक्ष राजिब ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन बुझाएका हुन् ।