arrow

लागू औषधको ट्रान्जिट बन्दै नवलपुर

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ साउन १२ मंगलबार
drugs.jpg
तस्बिर जिल्ला प्रहरी कार्यालय, नवलपुर

कावासोती । नवलपुर जिल्ला लागु औषधको मुख्य ट्रान्जिट बन्दै गएको एक तथ्याङ्कले देखाएको छ । लागू औषध ओसारपसार तथा सेवनमा संलग्न रहेको आरोपमा नवलपुर प्रहरीले गएको एक वर्षमा १४४ जनालाई पक्राउ गरेपछि जिल्ला हुँदै लागू औषधको ओसारपसार ठुलो मात्रमा हुने गरेको पाइएको हो ।

नवलपुर प्रहरीबाट प्राप्त तथ्याङ्कमा लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा सबैभन्दा गत आर्थिक वर्ष ०७७/०७८ मा एक सय ४४ जना मानिसलाई पक्राउ गरेको उल्लेख छ । अघिल्लो आ.व ०७६/०७७ नवलपुर प्रहरीले ६७ वटा लागु औषध सम्बन्धी मुद्दा दर्ता गरेकोमा गत आ.व ०७७/०७८ मा ८० वटा मुद्दा दर्ता गरेको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयले उपलब्ध तथ्याङ्क अनुसार गत आ.व ०७७/०७८ मा प्रहरीले १५ हजार थान भन्दा धेरै प्रतिबन्धित लागु औषध र करिब १० किलो गाँजा बरामद गरेको छ । पक्राउ परेकाहरूबाट ४९ हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेष गरेर नवलपुरको दुम्किबास, चालिस किलो, कावासोतीमा गरिने प्रहरी चेकिङमा लागू औषध सहित ओसारपसार गर्नेहरू समातिने गरेको हो । सीमावर्ती भारतीय बजारमा लागु औषध खरिद गरी खुल्ला सिमानाको फाइदा उठाउँदै रुपन्देही र पश्चिम नवलपरासी हुँदै लागु औषध ओसारपसार गर्नेहरू नवलपुर प्रवेश गर्ने गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । पक्राउ पर्नेहरू अधिकांश नवलपुर बहिरका रहेका र जिल्लाको बाटो हुँदै अन्य जिल्लामा लागु औषधको कारोबार गर्नेहरू धेरै रहेको मल्लले बताए ।

देशका सबै भूगोलमा सहज रूपमा आवागमन गर्न सकिने भएकोले नवलपुर हुँदै लागू औषधको कारोबार हुने गरेको प्रहरी उपरीक्षक मल्लको भनाई थियो । पक्राउ परेको सङ्ख्या बढ्दा लागु औषधको कारोबार बढेको स्वीकार गर्दै उपरीक्षक मल्लले अघिल्ला वर्षको तुलनामा प्रहरीको सक्रियता भने बढेको बताउँछन् ।

“लागु औषध नियन्त्रण गर्न जिल्ला भित्र नवलपुर प्रहरीले अभियान चलाई रहेको छ, तर ओसारपसार नियन्त्रण गर्न अन्तर प्रदेश बिच समन्वय हुन जरुरी छ ।” मल्लले भने । “नवलपुर लुम्बिनी र वाग्मती प्रदेशको बिचमा छ, ओसारपसार नियन्त्रणका लागी हाम्रो प्रयासले मात्रै हुँदैन, प्रदेश प्रदेश बिच समन्वय हुन पर्छ, यसका लागी मैले गण्डकी प्रदेश प्रहरी मुख्यालयमा पनि कुरा अगाडी बढाएको छु,” मल्लले भने । जिल्लालाई लागु औषधको समस्याबाट मुक्त गर्न नवलपुर प्रहरीले कुनै कसर बाकी नराख्ने मल्लको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ