arrow

गण्डकी प्रदेशमा डोबाटे बिकलाई गरिएको अपमानप्रति डा.कोइरालाको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
Shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गण्डकी प्रदेश सरकार गठनमा दलित समुदायको प्रतिनिधित्व लत्याएकोप्रति आफू निकै दुखित भएको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै डा.कोइरालाले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट पर भाग्दै कांग्रेसले सम्पूर्ण दलित समुदायको अपमान गरेको बताएका हुन् ।

सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको कांग्रेसले गण्डकी प्रदेशको सरकार गठन गर्दा दलित समुदायलाई लत्याएकोप्रति उनले आपत्ति जनाएका हुन् ।

‘भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’,डा.कोइरालाले लेखेका छन्,  ‘सामाजिक न्यायका कुरा केवल शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।’ यसलाई तुरुन्त सच्याएर भोलिका दिनमा यस्ता निर्णयहरु नगर्न पार्टी नेतृत्वलाई उनको आग्रह छ ।

गण्डकी प्रदेश सरकारमा दलितबाट सहभागी हुन लागेका डोबाटे विश्वकर्माको नाम काटेर जग्गा व्यवसायी बिन्दुकुमार थापालाई शनिबार मन्त्री बनाइएको थियो ।

पार्टीका शीर्ष नेताका यस्ता निर्णयले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेलेको दलित समुदायको अपमान गर्नु पार्टीकै लागि दुर्भाग्य र घाटा भएको उनको भनाइ छ ।

वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनुपर्ने डा.कोइरालाको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ