arrow

अति विकटमा रहेको सन्तानेश्वर मन्दिर दर्शन गर्न एकैदिन सात हजार दर्शनार्थी, बढ्यो पर्यटकीय सम्भावना  

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ साउन ३ आइतबार
santaneshwor-mahadev-banke.jpg

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि करिब ७ हजार मानिस पुगेका छन् । एकदमै अप्ठेरो बाटोलाई छिचोल्दै ठूलो संख्यामा मानिसहरु शनिबार मन्दिर दर्शनका लागि पुगेका हुन् । सिमसिमे पानीको प्रवाह नगरी हजारौंको संख्यामा मानिसहरु त्यहाँ पुगेका थिए । 

पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न जाने चाँजोपाँजो पहिलोपटक नरैनापुर गाउँपालिकाले मिलाएको हो । प्रचुर पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर महादेव मन्दिरको प्रचारप्रसारका लागि त्यहाँ पुग्ने कार्यक्रम मिलाइएको हो ।

अढाई घण्टाको एकदमै अप्ठेरो पहाडी बाटो छिचोल्दै मानिसहरु मन्दिर दर्शनका लागि पुगेका थिए । नरैनापुर गाउँपालिकाको प्रवेशद्वार कोहलामा आन्तरिक पर्यटकलाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेपछि ठूलो टोली बाजागाजासहित त्यसतर्फ प्रस्थान गरेको हो । 

नरैनापुरले आफ्नो प्रमुख पर्यटकीय गन्तब्यको सूचीमा राखेर यस क्षेत्रको प्रचारप्रसारका लागि थालेको अभियान अन्तर्गत् शनिवार सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्ने कार्यक्रम तय गरिएको हो ।

‘नरैनापुरका लागि  शनिबार निकै खुशीको दिन हो, म निकै खुशी छु, यति ठूलो संख्यामा तपाईंहरु आउनुभयो, सबैलाई धन्यवाद दिन्छु,’ अध्यक्ष शाहले मन्दिर परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘म यो क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनका लागि लागिपर्छु, निकै राम्रो पर्यटकीय सम्भावना बोकेको यो मन्दिरमा जाने बाटो बनाउन पनि म लाग्छु, होमस्टेको अबधारणा पनि हामी ल्याउँदैछौं ।’

‘नरैनापुरलाई चिनाउने ठाउँहरुको प्रचारप्रचारका लागि हामी रत्तिभर पनि कञ्जुस्याइँ गर्दैनौं, त्यसैको अभियान स्वरुप आजको कार्यक्रम हो, म सबैलाई सन्तानेश्वर महादेव मन्दिरको दर्शनका लागि आह्वान गर्छु’, अध्यक्ष शाहले भने । उनले त्यहाँ गएर पूजासमेत गरेका थिए ।

सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताए । ‘हामीले अभियानकै रुपमा भिजिट नरैनापुर २०२१ सञ्चालन गर्दैैछौं, शनिबार नरैनापुरको प्रवेशद्वार वडा नम्बर ६ कोहलामा आन्तरिक पर्यटकहरुको स्वागत गरेर त्यहाँबाट रमणीय स्थल सन्तानेश्वर महादेव मन्दिर पुगेका छौं, नरैनापुरलाई चिनाउने यस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकहरुको सहज आवागमनका लागि गाउँपालिकाले काम गर्नेछ’, प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने । 

पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्न पुगेका मानिसहरु निकै उत्साहित देखिएका थिए ।त्यस अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उचित सुरक्षा ब्यबस्था मिलाएको थियो।

अप्ठेरो बाटोका बाबजुद शनिवार पहिलोपटक त्यहाँ गाडी पुगेको छ । लु १ च ६३९० जीप पहिलोपटक सन्तानेस्वर महादेव मन्दिर स्थलमा पुगेको हो । गाउँपालिकाले यो लगायत अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रचारप्रचारका लागि बजेट पनि विनियोजन गरेको छ । 

पछिल्लो समय स्वतःस्फुर्त ढंगले नेपालगञ्जबाट मानिसहरु रमणीय पर्यटकीय स्थल सन्तानेश्वर महादेवको दर्शनका लागि जान थालेका छन् । ‘मानिसहरुको फ्लो बढेको छ, यो खुसीको कुरा हो, अब हामी झन सशक्त ढंगले यसको प्रचारप्रसारका लागि लाग्छौं’, प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने ।

यो मन्दिर नेपालगञ्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीयहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ