arrow

उन्मादमा सत्ता

अँध्यारोमा एमालेले गर्‍यो बजेट पास, विपक्षी दलहरुको उपस्थिति बिनै एकलौटी सदन चलायो 

इन्द्र बानियाँ भन्छन् –सत्तारुढ दलले बहुमतको दम्भ देखाउँदै एकलौटी ढंगबाट पास गरेको बजेट स्वीकार्य हुँदैन 

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ असार २८ सोमबार
bagmati-pradesh-samsad.jpg

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेटको विनियोजन विधेयक र बजेट कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । प्रतिपक्ष दलहरुको बहिस्कारका बीच सत्तापक्ष नेकपा एमालेले एकलौटी सदन संचालन गर्दै प्रतिपक्षी दलहरुको उपस्थिति बिनै बजेट पास गरेको हो ।

आइतबार साँझसम्म चलेको बैठक प्रतिपक्षले बहिस्कार गरेपनि सत्तापक्षको मात्र उपस्थितिमा २०७८–०७९ का लागि ल्याएको बजेट पारित गरेको हो । आइतबार बिहान साढे ११ बजेदेखि चलेको प्रदेशसभा बैठक दिनभरि चलेको थियो । सरकारको बजेट विनियोजन विधेयकमाथिको छलफलका क्रममा विपक्षी दलहरुले आफ्ना प्रश्न तथा असन्ुष्टिहरु राखेपछि साँझ मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा जवाफ दिने क्रममा झ्याप्प बत्ती गयो । 

विद्युत कटौती भएपछि अन्धकार बनेको संसद बैठक भोलि गरौँ भन्दै प्रतिपक्षले प्रस्ताव गरे । तर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रतिपक्षको कुरालाई व्यवस्था गरिरहे र बैठक अघि बढाइरहे  । त्यसपछि सबै प्रतिपक्षी दलका सांसदहरु बैठक बहिस्कार गरेर बाहिर निस्किए ।

तर संसद चलिरह्यो र बजेट पास भयो । बजेटमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नेमकिपाका सांसदले राखेको खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भयो । 

विपक्षी दलका तर्फबाट खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका सांसद्हरुको बहिस्कारका बीच सत्तापक्षबाट प्रदेशसभा बैठक संचालन भइरह्यो ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद् युवराज दुलालले केही सांसदको उपस्थितिमा बजेट पास गर्नुले प्रदेश सरकारको नैतिकता र सभामुखको निर्णय क्षमता प्रस्ट्याएको बताएका छन् ।

‘प्राविधिक समस्या आएकाले बैठक स्थगित गरेर भोलिका लागि सारौँ भनी हामीले प्रस्ताव गर्यौं, तर बेवास्ता गर्दै प्रमुख प्रतिपक्षको उपस्थिति बिनै बजेट पास गरियो । यसले प्रदेश सरकारको नैतिकता कस्तो छ भन्ने आम जनताले बुझे’ उनले हाम्राकुरासंँग भने ।

उनले प्रदेशसभामा बत्ती जाँदा जेनेरेटरको समेत सुविधा नहुनु, माइकमा रेकर्ड सिस्टम नहुनुलगायत समस्या लाजमर्दो विषय भएको बताए ।
 
यता प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा गरेर एकलौटी ढंगबाट बजेट पास गरेमा यो दिन इतिहासकै कालो दिन हुने बताएका थिए । उनले बैठक बहिस्कारपछि यस्तो प्रतिक्रिया दिएका थिए । 

बिहान ११ः४० बजेदेखि निरन्तर संचालन भएको प्रदेशसभा बैठकमा विभिन्न समयमा विद्युत अवरुद्ध भई बैठक प्रभावित भइरहेको र संसदमा खर्च कटौतीको प्रस्ताव राखेका सांसद्हरुले फिर्ता लिने वा नलिने काम बाँकी रहेको अवस्थामा अर्को दिनका लागि पुनः बैठक राख्न विपक्षी दलहरुले आह्वान गर्दासमेत त्यसको उपेक्षा गर्दै सत्तारुढ दलले बहुमतको दम्भ देखाउँदै एकलौटी ढंगबाट पास गरेको बजेट स्वीकार्य नहुने बानियाँले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ