प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न- कुलपति अझै किन मौन ?
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
1.7k
Shares
काठमाडौँ । नेपाली काँग्रेसले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनादेखि जारी आन्दोलनप्रति कुलपतिसमेत रहेका प्रधानमन्त्रीको मौनतामाथि प्रश्न गरेको छ । काँग्रेसले ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति कुलपति रहेका प्रधानमन्त्री अझै किन मौन ?’ भन्दै प्रधानमन्त्रीको मौनता प्रति प्रश्न उठाएको हो ।
काँग्रेसले त्यहाँ आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरूसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न कुलपति प्रधानमन्त्रीसँग अपिलसमेत गरेको छ ।
‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा नेपाली काँग्रेस सार्वजनिक रूपले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गर्दछ ।’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौँ विषय पर्नेमा तथ्यमा कसैको दुई मत नरहेको तर प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी पनि भएको काँग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।
कोभिड महामारी चलिरहेको बेला स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्ने भन्दै काँग्रेसले त्यसको हेक्का कुलपतिलाई नहुनु दुःखद रहेको समेत भनेको छ ।
‘प्रतिष्ठान भित्र अनेक बेथिति र अराजकता रहेको विवरण पटक-पटक सार्वजनिक भएका छन् । ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी छ । प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरूको भावनामा चोट पुर्याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न ।’ विज्ञप्तिमा भनिएको छ ।