arrow

ऐतिहासिक हलेसीगढीको संरक्षण र विकास गर्न कार्यदल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
holesung gadi karyadal8888.jpg

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको ऐतिहासिक हलेसी गढीको पुरातात्विक अन्वेषण, संरक्षण र विकास गर्न कार्यदल गठन भएको छ ।

स्थानीय समाजसेवी भुपेन्द्र कुमार राईको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन भएको हो । हिन्दु, बौद्ध र किरातको त्रिधार्मिक स्थल अन्तर्गत किराँत धर्मालम्बीहरुको क्षेत्र हलेसीगढी संंरक्षण तथा विकास गर्ने गरि कार्यदल गठन भएको बताइएको छ ।

हलेसीगढी संंरक्षण तथा विकास गर्ने भन्दै होलैसुङ समुह नामक एक संस्थामा आन्तरिक खटपट देखिएपछि सो समूहलाई आधिकारिक बन्न र गढीलाई समेटेर लिएर जान बारम्बार नगर प्रमुख इवन राईले अनुरोध गरेको बुझिएको छ ।

तर, गढीको संरक्षण र विकास गर्ने नाममा उक्त समूह आधिकारीक नभएको पुष्टि भएपछि सोही संस्थाका भुपेन्द्र कुमार राईको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

सो संस्थाका राई र दिपेन्द्र राईले केहीदिन अघि होलैसुङ समूहमा आफूहरु नरहने भन्दै सामाजिक संजालमा विज्ञप्ती नै जारी गरेपछि गढी संरक्षणका लागि कार्यदल बनाइएको बताइएको छ । होलैसुङ समुहको आवरणमा दलगत स्वार्थ पूरा गर्न प्रयोग गरिएको पाइएपछि भुपेन्द्र कुमार राई र दिपेन्द्र राईलगायतका व्यक्तिहरु बाहिरिएको एक स्रोतले बताएको छ ।

होलैसुङ समूहलाई आधिकारिक बन्न र गढीलाई समेटेर लिएर जान बारम्बार अनुरोध गर्‍यौं । उहाँहरुबाट उक्त समूहलाई आधिकारीकता दिने काम भएन । उहाँहरुको आन्तरिक विवादकाकारण उक्त समुहआफैं विघटन भएपछि गढीको संरक्षण, प्रवर्धन र विकासको प्रचार-प्रसार गर्नको लागिकार्यदल गठन गरिएको नगर प्रमुख राईले बताए ।

‘गढीको संरक्षण गर्ने, गढीको पुरातात्विक अन्वेषण गर्ने, विभागसँग समन्वय गरेर यसको प्रमाणीकरण गराउने, आवश्यक दस्तावेज संकलन गराउने, पर्या पर्यटनको रुपमा विकास गरि यस क्षेत्रको धार्मिक सांस्कृतिक पर्यटनको विकासको गन्तव्यको रुपमा स्थानीयहरुको आय आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले गढी बनाइएको छ ।’

राईले भने, ‘यस अघि होलैसुङ समूहले यस गढीको बारेमा विभिन्न काम गर्दै आएको भनेपनि अहिलेसम्म कुनै दर्ता नभएको, यो बिचमा खेलमैदान देखि लिएर विविध काम गर्ने विषयमा खटपट आइसकेपछि बास्तविकता बुझ्दा आधिकारिक नभएको पाइयो, त्यसैले आगामी दिनमा गढीको संरक्षणका लागि कार्यदल निर्माण गरेका हौं ।’

अब गढीको संरक्षणका लागि राईको संयोजकत्वमा गठन भएको कार्यदलले आगामी दिनमा सरकारवालाहरु सबैलाई समेटेर एउटा बृहत कार्य समिति निर्माण गर्नेछ ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित ऐतिहासिक गढी हलेसी थुम्का प्रथम शासक होलैसुङ र उनका दश भाई छोराको सम्झना र सम्मानमा निर्माण गरिएको सामूहिक चौतारो हो ।

चौतारोको छानोमा धनुषबाँण र ढुंगाको तरबार राखिएको छ । करिब ३५० वर्ष पहिले राज्यसत्ता सञ्चालन गरेका राजा हो लैसुङ तथा उनका छोराहरुको स्मृतिमा सो ठाँउमा चौतारा निर्माण गरिएको छ ।

चौतारोमा होलैसुङका जेठा छोरा होम्दिम होंछा, माइला मायाराजा होंछा, साइला जितराजा होंछा, काइला पुरिम होंछा, ठाइँला बिराजा होंछा, अन्तरे फ्लोमा होंछा, जन्तरे मुङ्लो होंछा, मन्तरे नाम्रा होंछा, लखन्तरे सैंदो होंछा र कान्छा तातेसुङ होंछाको नाम उल्लेख छ। होलैसुङ राजाले हलेसी क्षेत्रमा प्रथम कविलाको रुपमा शासन संचालन गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ