काठमाडौं । सुपरम्यान र द गुनिजजस्ता चर्चित हलिउड चलचित्रका निर्देशक रिचर्ड डोनरको निधन भएको छ । डोनरको ९१ वर्षको उमेरमा निधन भएको हो ।
डोनरको सोमबार निधन भएको उनकी श्रीमती चलचित्र निर्मातासमेत रहेकी लरेन शुलर डोनरले डेडलाइनलाई जानकारी दिएकी हुन् ।
सन् १९७० र ८० को दशकमा हलिउडमा तहल्का पिटेका डोनरले सुपरम्यान र द गुनिजसँगै द मेल गिब्सन–ड्यानी ग्लोबर बडी कप सिरिज, द ओमन, फ्री विली, द लस्ट बोइजसहितका चलचित्र बनाएका थिए ।
उनले सन् १९७८ मा बनाएको सुपरम्यानलाई पहिलो आधुनिक सुपरहिरो चलचित्र पनि मानिन्छ । उनले द गुनिजलाई १९८५ मा बनाएका थिए ।
अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्क्समा जन्मिएका डोनरले सन् १९६० को दशकको शुरुदेखि काम थालेका थिए ।