arrow

निषेधाज्ञा: झापामा सार्वजनिक सवारीसाधन सञ्चालन हुने  

logo
युवराज रेग्मी
प्रकाशित २०७८ असार २१ सोमबार
corona-lockdown-hamrakura.jpg

झापा। विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस कोभिड-१९को  दोस्रो लहरका कारण मानिसहरूको मृत्यु हुनुका साथै सङ्क्रमितहरूको  सङ्ख्या ओरालो नलागे पनि  झापा जिल्लाभर  बन्द रहेका  सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन्  । 

जिल्ला कोभिड विपत व्यवस्थापन समिति झापाको आज (सोमबार) बसेको बैठकको निर्णयले  सार्वजनिक यातायात जोरबिजोर प्रणाली अन्तरगत सञ्चालनमा ल्याइने  गरेको छ । सोमबार बसेको डीसीसीएमसीको बैठकले जिल्ला भर  निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको  छ ।  बैठकले आगामी असार ३१ गतेसम्मका लागि जिल्लाभर  निषेधाज्ञा कायमै  राखेको छ । 

बैठकले अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका निजी सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरबिजोर प्रणाली अन्तरगत सञ्चालन गर्न दिने  निर्णय गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको  बैठकले जिल्लामा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरू पनि  सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

होटेल तथा रेस्टुरेन्ट व्यवसाय प्रत्येक दिन  साँझ ५ बजेसम्म र ५ बजे पश्चात् टेकअवे सेवा सञ्चालनको निर्णय डीसीसीएमसी झापाको बैठकले गरेको छ ।

बैठकले खाद्यान्न, फलफूल, तरकारी, माछा मासु, दुधडेरी, पुस्तक  पसल र हार्डवेयर पसल , निर्माण जन्य सामग्री, इलेकट्रोनिक्स व्यवसाय , टेलरिङ्ग व्यवसाय , लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटिक, भाँडाकुँडा , मोटर गाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसल साँझ ५ बजेसम्म सञ्चालन गर्न  पाउने निर्णय गरेको  छ । व्यापार व्यवसाय तथा  पसल सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न  सञ्चालकहरूलाई आग्रह गरेको छ ।

सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखाना लगायतका मनोरञ्जन छेत्र र सेवा छेत्र  बन्द नै रहने  झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना द्वारा हस्ताक्षरित  आदेशमा उल्लेख  गरिएको  छ । 

कोरोनाका कारण झापा जिल्लाभर हालसम्म १४ हजार २२० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ५९ जनाले ज्यान गुमाइ सकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ