भारतमा कामका लागि पुगेका नेपालीलाई खोप लगाइने, राज्य सरकारले दियो निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
2.6k
Shares
नयाँदिल्ली । भारतको ओडिशा राज्य सरकारले आफ्नो राज्यका जिल्ला प्रशासन र नगरपालिकाहरुलाई आफ्नो क्षेत्रमा काम गरेर बसेका सबै नेपालीलाई कोभिड खोप दिन निर्देशन दिएको छ । सरकारले त्यहाँ रहेका नेपालीहरूसँग आवश्यक कागजात नभए पनि उनीहरूलाई खोप अभियानमा सहभागी गराउन निर्देशन दिएको हो ।
भारत सरकारको कोभिड–१९ खोप प्रशासनका लागि राष्ट्रिय विज्ञ समूहको सिफारिसअनुसार राज्य सरकारले यस्तो निर्देशन दिएको समाचार एजेन्सी पीटीआइले जनाएको छ ।
स्वास्थ्य र परिवार कल्याणका एडिसनल चिफ सेक्रेटरी पीके मोहापात्राले जिल्ला कलेक्टर, नगरपालिका कमिस्नर र प्रमुख जिल्ला मेडिकल तथा जनस्वास्थ्य अधिकारीहरूलाई यस विषयमा पत्र लेखेका छन् ।
पत्रमा मोहापात्राले राज्यमा कार्यरत सबै नेपाली नागरिकहरूसँग भ्याक्सिन लिनका लागि नाम दर्ता गर्न आफ्नो परिचय पत्र नहुन पनि सक्ने उल्लेख गर्दै प्रदेश सरकारले ती नेपालीहरूलाई बिना परिचय पत्र खोप दिने नीति लिएको बताएका हुन्।
यसअघि ओडिशा सरकारले जोखिम समूहमा रहेका व्यक्तिहरूलाई उनीहरूसँग आधिकारिक परिचय पत्र नभए पनि खोप दिन निर्देशन दिएको थियो । अहिलेसम्म राज्यले १ करोडभन्दा धेरैलाई खोप लगाइसकेको छ । भारतभर भने ३० करोड बढीले खोप लगाइसकेका छन्।
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा बिहीबारबाट खोप लगाउने महाअभियान शुरु भएको छI सीमा जोडिएको उत्तर प्रदेश र विहारको खोप अभियानमा तराई मधेश क्षेत्रका कतिपय नेपाली सहभागी भई लाभान्वित समेत भएको स्थानीय नेपालीहरूले बताएका छन्।