arrow

वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने सरकारको लोकप्रिय निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
Bhakti_Thapa_Sardar.jpg

काठमाडौँ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको हो। भारतमा शासन गरिरहेका ब्रिटिसहरूलाई युद्धमा हायलकायल पारेका थापालाई राष्ट्रिय विभूतिमा थपिएको सरकारका प्रवक्ता वसन्त नेम्वाङले जानकारी दिए।

भक्ति थापा ७३ वर्षको उमेरमा सन् १८७८ मा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व गरेका थिए। देउथलमा अङ्ग्रेज विरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाले अङ्ग्रेजको गोली लागेर सहादत प्राप्त गरेका थिए। नेपाल-अङ्ग्रेज युद्धको बखत थापा नेपालका वरिष्ठ सैन्य अधिकारी थिए।

अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओडाएर सम्मानकासाथ अमरसिं थापालाई बुझाएको इतिहास छ। उनै थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग लामो समय देखी उठ्दै आएको थियो।

सरकारले वीर भक्ति थापालाई नेपालका राष्ट्रिय विभूतिमा समावेश गरेको छ। यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, रामशाह,  अमरसिंह थापा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य,  भीमसेन थापा,  बलभद्र कुँवर, त्रिभुवन,  मोतीराम भट्ट,  शङ्खधर साख्वा,  पासाङल्हामु शेर्पा र  महागुरु फाल्गुननन्द गरी १६ जना भएकामा अब राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्षमा भीमकुमार ओझा (पाँचथर) र सदस्यमा महेन्द्रबहादुर गुरुङ (ओखलढुङ्गा) तथा राष्ट्रिय योजना आयोगका सदस्यमा राजबहादुर गिरी (बाजुरा) लाई नियुक्त गरिएको जानकारी दिए। त्यस्तै राष्ट्रिय बिमा संस्थानका प्रशासकमा कविप्रसाद पाठक(झापा) लाई पुनः नियुक्त र नेपाल इञ्जिनीयरि¬ङ परिषद्का रजिष्ट्रारमा इ. शिवमंगल गिरीलाई नियुक्त गरिएको छ।

त्यस्तै नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्षमा डा अर्जुन कार्की तथा सदस्यमा डा अमिना सिंह, डा असीम ढकाल, प्रा  डा विपीनचन्द्र अधिकारी, वीरेश शाह, डा दोभान राई,  डा सङ्गीताकौशल मिश्र, डा सूर्यराज आचार्य, डा उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणालाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

सरकारका प्रवक्ता नेम्वाङका अनुसार विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यमा खड्गबहादुर राई र वाङ्छेदर लामालाई नियुक्त गरिएको छ।

फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थप आगामी भदौ ३१ गतेसम्म थप गरिने भएको छ । आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ गरी लगातार दुई वर्षसम्म वार्षिक रूपमा न्यूनतम एक सय कामदार पठाउन नसकेका इजाजत पत्र प्राप्त संस्थाको इजाजत पत्र आव २०७८-७९ का लागि नवीकरण गराउन आएमा सरकारले नवीकरण गरिदिने भएको छ।

सुर्खेत जिल्ला चिङ्गाड गाउँपालिकाको केन्द्र वडा नं ५, आवलिङबाट सोही गाउँपालिकाको वडा नं २ पुङ्खेत कायम गर्न स्वीकृति दिइने सरकारका प्रवक्ता नेम्वाङले जानकारी दिनुभयो । मन्त्री नेम्वाङ मन्त्रिपरिषद्का निर्णयबाट सरकारका प्रवक्ता तोकिनुभएको हो । उहाँका अनुसार सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८  र नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत  गर्ने  निर्णय पनि भएको छ ।

विसं २०७८ असार २२–३१ सम्म आयोजना हुन लागेको युनाइटेड नेशन हाइलेभल पोलिटिकल फोरम अन सस्टेनेबल डेभलभमेन्ट–२०२१ मा नेपालका तर्फबाट भर्चुअल सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलका नेतृत्वमा सात सदस्यीय टोलीको मनोनयन भएको छ।

नेपाल प्रहरीको कार्य-अपराध अनुसन्धान विभागको कार्य विभाजन गरी एक प्रहरी अतिरिक्त महानिरीक्षक पद  दरबन्दी सिर्जना गर्ने र सैनिक सेवा (चौथो संशोधन) नियमावली, २०७८ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति प्रदान गरिने प्रवक्ता नेम्वाङले जानकारी दिए। 

एसियाली विकास बैङ्कको कार्यकारी निर्देशकको कार्यालय, मनिलामा  २०२१ नोभेम्बर १ देखि  २०२३ अक्टोबर ३१ सम्मको दुई वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकका सल्लाहकारमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने निर्णय गरिएको छ।

विश्व बैङ्क समूहका अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र तत्सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्नका लागि अर्थ मन्त्रालयका सचिव वा सहसचिव, अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखालाई अख्तियारी दिइने भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभाग र कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक  रामशरण पौडेललाई मानव स्रोत विभागमा सरुवा गरिने प्रवक्ता नेम्वाङले जानकारी दिए।

सरकारले नेपाली सेनाका पाइलट सहायक रथी आशिषनरसिंह राणालाई पाइलट उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने तथा मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यमा प्रा डा मनराज कोलाक्षपति, डा पदमबहादुर शाही र डा.अनिल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य–सचिवमा वालिङ नगरपालिका, स्याङ्जाका जीवनारायण काफ्लेलाई तोक्ने र खोपको क्लिनिकल ट्रायलसम्बन्धी प्रक्रिया स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता नेम्वाङले जानकारी दिए। गण्डकी नदी बेसिनमा जोखिम समुदाय तथा पारिस्थितिकीय प्रणालीको जलवायु समयानुकूल सुधार आयोजनाका लागि हरित जलवायु कोषबाट विश्व संरक्षण सङ्घमार्फत प्राप्त हुने अमेरिकी डलर २७.४ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसै गरी जापान सरकारबाट जेडिएस दोस्रो चरणअन्तर्गत सन् २०२१ का लागि छात्रवृत्तिका रूपमा प्राप्त हुने जापानी येन ३५६ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं १० स्थित ६१–६–० बिघा नदी उकास जग्गामध्येबाट हुलाकी राजमार्ग र सोको मापदण्डअनुसारको जग्गा छाड्ने गरी रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३० वर्ष अवधिको दीर्घकालीन भाडामा उपलब्ध गराउन स्वीकृति दिइने भएको छ।

खबर गरौँ ११४५ हेल्पलाइन सेवा सञ्चालन गर्न राजपत्राङ्कित तृतीय श्रेणीका चार अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।बीउबिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने र सडक बोर्डको कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ