arrow

प्रधानमन्त्रीले जथाभाबी बोलेको भन्दै झापामा विद्यार्थीहरूले निकाले रेबिज भ्याक्सिन र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
rabij-rayally.jpg

झापा । झापाको बिर्तामोड नगरपालिका मुक्ति चोकमा पाँच विद्यार्थी सङ्गठनले संयुक्त रूपमा प्रधानमन्त्री ले पदीय मर्यादा भुलेर दिएका अभिव्यक्ति विरुद्ध फरक शैलीको प्रदर्शन गरेका छन् । पाँच विद्यार्थी सङ्गठनहरूले ‘रेबिज भ्याक्सिन र्‍याली’ नाम दिएर प्रदर्शन गरेका छन् । विद्यार्थी सङ्गठनहरूले बुधवार बेलुका ५ बजेतिर बिर्तामोडको मुक्ति चोकमा ‘रेबिज भ्याक्सिन र्‍याली’ प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही दिन देखि पदीय मर्यादा समेत बिर्सिएर जथाभाबी बोल्न थालेको भन्दै विद्यार्थीहरूले प्रधानमन्त्रीलाई रेबिज भ्याक्सिन लगाउनुपर्ने जिकिर गरेका थिए । विरोध र्‍यालीमा सहभागी भएका विद्यार्थीहरूले मुक्ति चोक परिक्रमा गरी आयोजित कोणसभामा विद्यार्थीहरूले कुकुरलाई रेबिज भ्याक्सिन लगाएर साङ्केतिक विरोध जनाएका छन् ।

झापाका पाँच विद्यार्थी सङ्गठनहरूले बुधवार बेलुका बिर्तामोडको मुक्ति चोकमा निकालेको प्रधानमन्त्री ओलीविरुद्धको प्रदर्शनमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, माधव नेपाल–झलनाथ खनाल निकट अखिल, जनमोर्चा र जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनका विद्यार्थीहरू सहभागी भएका थिए । 

 विरोध कार्यक्रम अन्तरगत कुकुरलाई भ्याक्सिन लगाउने क्रममा प्रहरीसँग विद्यार्थीहरूको घम्साघम्सी समेत परेको थियो । साथै प्रदर्शनकारी विद्यार्थीहरूले विरोध स्वरूप प्रधानमन्त्री केपी सर्मा ओलीको पोस्टर समेत जलाएका थिए ।

‘प्रधानमन्त्री केपी ओलीले बहुलाएको अभिव्यक्ति दिइरहेका छन् । मलाई बहुला कुकुरले टोकेको छ ? भनेर सामुदायिक कुकुरहरूको समेत अपमान हुने गरी अभिव्यक्ति दिएको भनी नेविसंघका विद्यार्थी नेता पोषराज कटुवालले कार्यक्रमलाई सम्बोधन गर्दै बताए ,‘राष्ट्रको प्रमुख जस्तो व्यक्तिले त्यस्तो अभिव्यक्ति दिँदा उहाँलाई रेबिज लागेको रहेछ भनेर हामीले उहाँको फोटोमा रेबिज भ्याक्सिन लगाएर साङ्केतिक विरोध गरेका हौँ ’ उनले भने ।

विरोध कार्यक्रम मार्फत चेतावनी स्वरूप विद्यार्थीहरूले प्रधानमन्त्री नसच्चिए थप आन्दोलन गर्ने जनाएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ