हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो सञ्चार माध्यमका लागि लोकप्रिय कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
602
Shares
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबार सम्पन्न नगर सभामा उपमेयर विमला राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिका तथा जिल्लाबाट प्रकाशन हुने छापा तथा विद्युतीय सञ्चार माध्यमलाई सङ्घीय सरकारकै शैलीमा लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने विषय समेटिएको छ। नगरपालिकाले राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने विज्ञापन तथा सूचना पनि नगरपालिका वा जिल्लाभित्रका एजेन्सीलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम ल्याएको छ।
यस्तै, नगरपालिकाभित्रका न्यून आय भएका पत्रकारिता लगायत अन्य विषयमा पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, नेपाल पत्रकार महासङ्घसँगको समन्वयमा स्थानीय स्तरमा पत्रकारिता तालिम सञ्चालन गर्ने, ‘राम्रो हलेसी, हाम्रो हलेसी’ रेडियो कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रम ल्याइएको मेयर इवन राईले बताए।
नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि ५८ करोड १६ लाख २८ हजार ५५० रुपैयाँ बराबरको बजेट ल्याएको छ। नगरपालिकाले भूमि बैङ्कको अवधारणलाई अवलम्बन गरी खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, अर्ग्यानिक व्यवसायीक कृषि प्रवद्र्धनमा जोड दिने, वाली तथा पशु बिमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, नगरका सार्वजनिक जग्गामा केरा खेती गर्न प्रोत्साहन गर्ने, एक वडा एक कृषि-पशु पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने, हरेक वडामा कृषिजन्य वस्तुको सङ्कलन केन्द्र स्थापना गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुट जस्ता नगदे बाली खेती गर्नेलाई प्रोत्साहन स्वरूप नगद प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ।
यस्तै, पर्यटन क्षेत्रको विकासका लागि होमस्टे सञ्चालनमा ल्याउने, स्थानीय भाषा, लिपी, साहित्य र कलालाई प्राथमिकताका साथ संरक्षण र प्रवर्द्धन गर्ने, गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता उत्पादनलाई आगन्तुकलाई मायाको चिनो र कोसेली स्वरूप विक्री-वितरणको व्यवस्था मिलाइ प्रवर्द्धन गर्ने, चाम्लिङ, वाम्बुले र तिलुङ भाषाको स्थानीय पाठ्यक्रम निर्माणका लागि गठित कार्यदललाई गति दिने, एक विद्यालय एक पुस्तकालय नीति व्यवस्थित गर्दै जाने, नगर शिक्षकलाई निरन्तरता दिने, चाम्लिङ, वाम्बुले, तिलुङ र मगर भाषा कक्षा सञ्चालन गर्ने विद्यालयलाई एकमुष्ट अनुदान दिइ प्रोत्साहित गर्ने, गम्भीर प्रकृतिका रोगको उपचारार्थ सहयोग कार्यविधि बमोजिम कार्यान्वयन प्रक्रियालाई निरन्तरता दिइने, एक वडा एक महिला सहकारीलाई निरन्तरता दिने, वाल विवाहमुक्त नगर घोषणा गर्न जोड दिने, यस आर्थिक वर्ष उज्यालो नगर घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै, किराँतीको भाषा, संस्कार, संस्कृतिको लागि अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाको रूपमा परिचित गराउने, नगरपालिकाको कामकाजमा चाम्लिङ भाषा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनी डाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई मान्यता निरन्तरता दिने, त्यी वडाको लेटरहेडमा ततता भाषाको लिपीको प्रयोगलाई निरन्तरता दिने, ऐतिहासिक कागजात तथा दस्ताबेजहरू सङ्कलन गरी पुस्तक प्रकाशन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ।