arrow

काँग्रेस महाधिवेशनबारे छलफल जारी : केन्द्रका नेतालाई जिल्लामा नै मतदान गर्ने प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
nepali-congress-flag-tree.jpg

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।  महाधिवेशनका लागि कार्य तालिकाको लगभग टुङ्गो लगाइसकेको काँग्रेसले कोरोनाका कारण कसरी र कुन प्रक्रियाबाट सहज रूपमा महाधिवेशन गर्ने भन्ने बारे शीर्ष तहमा छलफल गरिरहेको हो । 

त्यस क्रममा नेताहरूले केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि हुने मतदान जिल्ला जिल्लामा नै गर्न सकिने प्रस्ताव गरेका छन् । सो विषयमा छलफल जारी छ । 
आजै केन्द्रीय समितिले महाधिवेशनका बारेमा सबै विषय टुङ्गो लगाउने काँग्रेस सह महामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । 

बिहीबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकले हेरफेर गरेको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत् राख्दै तल्ला तहका कार्य तालिकालाई फेरी संशोधन गरेको थियो । 

संशोधित कार्यपालिका अनुसार १२ साउनमा वडा अधिवेशन, १६ साउनमा गाउँ र नगर समितिको अधिवेशन, २० साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २३ साउनमा सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन, २६ साउनमा एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको छ । 

यसै गरी प्रदेश समितिको अधिवेशन पहिले तय भएकैलाई यथावत् राखिएको छ । जसअनुसार १ र २ भदौमा प्रदेश अधिवेशन हुनेछ । नयाँ कार्यपालिका अनुसार काँग्रेसको केन्द्रीय  महाधिवेशन १६ देखि १९ भदौसम्म हुनेछ । आज बस्ने केन्द्रीय समिति बैठकले वडा देखि केन्द्रसम्मका कार्य तालिकालाई अनुमोदन गर्ने बताइएको छ । 

यसअघि पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमार्फत काँग्रेसले ६ साउनमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । यस्तै ११ साउनमा गाउँ र नगर समितिको अधिवेशन, १६ साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २० साउनमा सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन, २० साउनमा एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन र २४ साउनमा एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ