arrow

सेजल मृत्यु प्रकरण : प्रहरी भन्छ- अनुसन्धान जारी छ

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ ३० आइतबार
sejol-koirala-death.JPG

दमक । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक जना छात्राको रहस्यमय मृत्यु भएको छ । दमक ५ स्थित एक घरमा डेरा गरी बसेर अध्ययन गर्दै आएकी इलामकी सेजल कोइरालाको मृत्यु भएको हो । 

घटना भएको दिन सेजल नराम्रोसँग बिरामी परेको र उनको अवस्था नाजुक रहेको भनी सोही घरमा तल्लो तलामा डेरा गरी बस्ने साथीलाई फोनबाट जानकारी आएपछि उनलाई  बुधबार साँझ करिब ५ बजे मोबाइलमा साथीहरूले सम्पर्क गरेका थिए । 

उनको मोबाइल नउठेपछि साथीहरू कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोश अवस्थामा भेटेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका थिए । बाथरुममा लडिरहेको भेटेपछि साथीहरूले उनलाई अस्पताल पुर्‍याएका थिए । उपचारका लागि लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै उनको अस्पतालमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

घटना भएकै राति करिब ११ बजे इलामको मङ्गलबारेबाट उनका आफन्त आएका थिए । उनका आफन्तहरूले उनको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीमा जाहेरी दिने तयारीमा थिए । प्रहरीले भने तत्काल उनको मृत्युको कारण थाहा पाउन पोस्टमार्टम रिपोर्टलाई प्राथमिकता दिएको बताएको छ ।

सोही विषयमा कोइरालाको मृत्युको घटनामा हालसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले जानकारी दिएको छ । पीडितका परिवारले हालसम्म कसैको नाममा किटानी जाहेरी नदिएको र घटनाबारे प्रहरी अनुसन्धानकै क्रममा रहेको इलाका प्रहरी कार्यालय दमकका इन्चार्ज डीएसपी नवराज कार्कीले बताए ।

मृतकको पोस्टमार्टम रिपोर्ट आउन अझै एक हप्ता समय लाग्ने र सो रिपोर्ट आए पश्चात् मृतकको परिवारको तर्फबाट किटानी जाहेरी दिइने मृतकका ठूलो बुबा भक्तबहादुर कोइरालाले प्रहरी समक्ष बताएका छन् ।  

हाल घटनामा संलग्न  हुन सक्ने शङ्कास्पद ४ जना व्यक्तिहरूलाई निगरानी गरिरहेको डीएसपी कार्कीले बताए । उता इलामको मङ्गलबारेस्थित मृतकको घरमा काजकिरिया शुरु गरिएको मृतकका बुबा सरोज कोइरालाले बताए ।

यसो भन्छिन् मृतककी साथी
मृतककी साथीले उनले आत्महत्या नगरेको दाबी गरेकी छिन् । उनले भनिन्, ‘मलाई लाग्दैन उसले त्यस्तो ट्राइ गर्छ भनेर । उसले त्यस्तो केही खाँदैनथ्यो । तर अब मसँग छुटेपछि उसलाई कस्ले ल्याएर दिन्थ्यो थाहा भएन ।’

उनले अगाडि भनिन्, ‘रिलेशनमा हो भन्ने मैले पनि सुनेकी थिएँ । मृत्यु हुँदा घाँटीमा दाग थियो हातमा दाग थियो । सुई हान्या जस्तो पनि थियो । ड्रग्स युज गरेजस्तो पनि थियो । ओभर डोज खुवाएर मार्न खोजेको हो कि वा के भा हो त्यस्तै देखिन्छ ।’

अरुण राईसँग उनको हालैमात्र रिलेशन भएको पनि उनले बताएकी छिन् । भन्छिन्, ‘पहिला त हामीले त्यस्तो चिन्दैनथ्यौं । कहाँबाट उनीहरु भेट्न थाले त्यो त थाहा भएन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ