arrow

कर्णालीबाट सुरु भएको काँग्रेसको सरकार यात्रा, प्रदेश २ मा पुग्दै

काँग्रेसका राम सरोज यादव र माओवादीका भरत साह सरकारमा जादै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौं । कर्णाली प्रदेशबाट सुरु भएको नेपाली काँग्रेसको सरकार यात्रा प्रदेश २मा पुग्ने भएको छ । प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको हो । नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलको नेता राम सरोज यादवले प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने करिब करिब निश्चित भएको बताए । ‘मुख्यमन्त्री ज्युसँग कुराकानी भइरहेको छ । हामी सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ’ यादवले भने । 

स्रोतका अनुसार काँग्रेसबाट राम सरोज यादव नै सरकारमा जाने सम्भावना छ । ‘मेरो कुरा पनि आएको छ । अरू साथीहरूको पनि कुरा आएको छ । को जाने भन्ने टुङ्गो लागेको छैन’ यादवले भने । स्रोतका अनुसार माओवादीबाट भरत साह सरकारमा जाने भएका छन् । सोमबार साँझसम्म या मङ्गलवार दिउसोसम्म काँग्रेस सरकारमा सहभागी हुने सम्भावना रहेको यादवले बताए । 

प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले सोमबार राती जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका ४ मन्त्री जितेन्द्र सोनाल, डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई सरकारबाट बर्खास्त गरेका थिए । जसपाको उपेन्द्र यादव पक्षले सोमबार दिउसो राउतलाई संसदीय दलको नेता घोषणा गरेको थियो । ठाकुर पक्षबाट कित्ता परिवर्तन गरेका दुई मन्त्री नबल किशोर साह र रामनरेश राय यादवलाई भने राउतले यथावत् राखेका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री राउतले मन्त्रालय फोडेर काँग्रेस र माओवादीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । प्रदेश २मा हाल ६ वटा मन्त्रालय छन् । त्यसलाई फोडेर ८ या १० सम्म पुर्‍याउने तयारी भएको स्रोतले बतायो । 

प्रदेश २मा यादव पक्षका ३६ र ठाकुर पक्षका १९ सांसद छन् । यसअघि पूर्व समाजवादीको ३० र पूर्व राष्ट्रिय जनता पार्टीका २५ सांसद थिए । ठाकुर पक्षका ६ सांसदले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगे पछि यादव पक्षको ३६ र ठाकुर पक्षको १९ भएको हो । 

प्रदेश २मा नेपाली काँग्रेसको १९ र माओवादीको ८ सिट छ । एमालेको २१ सिट छ । प्रदेश २मा जसपाको यादव पक्ष, नेपाली काँग्रेस र माओवादी केन्द्र मिले प्रस्ट बहुमत पुग्छ । जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुर गएको बेला यी सबै घटना भएका हुन् । अहिले यादव जनकपुरमै छन् ।

सोमबार राती वर्खास्तीमा परेका ठाकुर पक्षका निवर्तमान मन्त्रीहरूले सोमबार दिउसो बैठक गरिरहेका छन् । बैठक पछि आफ्नो धारणा सार्वजनिक गर्ने वर्खास्तीमा परेका मन्त्री सुरेश मण्डलले बताए । 

केही दिन अघि मात्र कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी भएको छ । कर्णाली प्रदेश सरकारमा नेपाली काङ्ग्रेसबाट दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसी सरकारमा सहभागी भएका छन् । श्रेष्ठले जलश्रोत तथा ऊर्जा तथा बिसीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ