arrow

उज्वल थापाप्रति यतिविघ्न शुभेच्छा कसरी ?

logo
युवराज गौतम
प्रकाशित २०७८ जेठ १८ मंगलबार
ujwal-thapa-nepal-flag.jpg

उज्वल थापा यतिबेला अस्पतालको भेन्टिलेटरमा छन् । कोरोना भाइरससँग जुधिरहेका छन् । भाइरसले उनको फोक्सोमा गम्भीर असर पुर्‍याएको चिकित्सकहरुले बताइरहेका छन् । तर उपचारको हरप्रयास जारी छ । अत्याधुनिक एक्मो प्रविधिको सहायतामा उनलाई उठाउने प्रयास भइरहेको छ । जीवनसँग लडिरहेका उज्वलप्रति देखिएको सदभाव र शुभेच्छाको लहरले सिंगो देश अचम्ममा परेको छ ।

राज्यको कुनैपनि अंगको जिम्मेवारीमा नबसी, न त कुनै उच्च पदमा नरहेका उज्वलप्रति मानिसहरुले आत्माबाट शुेभच्छा प्रकट गरेका छन् । स्वास्थ्य लाभको प्राथना गरेका छन् । सामान्य मात्र होइन प्रतिष्ठीत र विद्धान व्यक्तिहरुले ‘उठ उज्वल, तिमीले बाँच्नुपर्छ’ भनिरहेका छन् । उनलाई बचाउन देश विदेशबाट आधा करोड बढी त पैसा नै संकलन भइसकेको छ । अथाह शुभेच्छा र माया पाएका उज्वलका बारेमा धेरै मानिसहरुले उनीबारे पढ्ने प्रयास गरिरहेका छन् । उनीबारे बुझ्ने प्रयास गरिरहेका छन् ।

नेपाली समाज र नेपाली राजनीति दुई दशक यता अत्यन्तै ठूलो अस्थिरतामा फसेको छ । आम मानिसहरु यो अस्थिरताबाट मुक्त हुन चाहन्छन् । अस्वस्थ्य राजनीतिले नेपालीहरुलाई अवाक बनाएको छ । यही बिचमा उज्वलको उदय हुनु धेरै शुभेच्छुकहरुका लागि खुशीको क्षण थियो । त्यो खुशी मृत्युसँग जुधिरहेको सुन्दा मानिसहरुलाई असह्य भएको हो । ‘नेपाली भन्ने कि बन्ने’ र ‘नेपाल खुल्ला छ’ जस्ता नागरिक जागरण र बैकल्पिक राजनीतिको अभियान थालेका उज्वलले त्यसै ताली पाएका होइनन् । उनको अभियानले धेरै नेपालीको मन छोएको छ । भावनाको प्रतिनिधित्व गरेको छ । विवेकशील क्रान्ति एउटा सानो अभियान थियो तर विशाल भावना समेटिएको थियो । त्यो अभियान स्वदेशमा मात्र होइन प्रवासी नेपालीको मनसँग जोडिएको थियो । उज्वल ती सबै अभियानका मियो थिए ।

हुनत कुनै समय अमेरिकामा अध्ययनका क्रममा उज्वल भिक्षु बन्ने मुडमा पनि थिए रे । भौतिकवादी जीवनबाट विरक्तिएर भि़क्षु बन्ने निर्णय सन फ्रान्सिस्कोको एक भिक्षु संगठनमा भर्ती हुने निर्णयमा समेत पुगेका उनी अन्ततः नेपाली समाज सुधार गर्ने अभियानमा जुट्न पुगेका हुन । अमेरिकामा छँदै सूचना प्रविधिको डिजाइनर बनेका उनले कालान्तरमा नेपाली युवाहरुलाई आफ्नो विचारसँग नजिक बनाउन भ्याए । माओवादी जनयुद्ध कालमै सुचना प्रविधि क्षेत्रमा स्वालम्बभी बन्न सानो संस्था खोलेर हजारौं नेपालीलाई आफ्नो विचारसँग नजिक गराएका उनले नेपाल बन्दले तहसनहस बनेको नेपाली समाजमा ‘नेपाल खुल्ला छ’ भन्ने सकरात्मक अभियान चलाएर हजारौं तन्नेरीहरुको मन खिचेका थिए ।

बन्दै बन्दले थलिएको नेपालमा एक हुल युवाहरु साथ लिएर हाते माइक बोकेर ‘नेपाल खुला छ’ भन्दै हिंड्ने उज्वल आज थलिएको सुनेर लाखौं शुभेच्छुकहरु दुखित हुनु र सदभाव ब्यक्त गर्नु अनौठो होइन । प्रेरणा दिने एउटा चौतारी विरामी हुँदा शुभेच्छुकहरुमा निराशा आउनु स्वाभाविक हो । पत्रकार अमित ढकालको विचारमा, ‘उनी प्रधानमन्त्री, मन्त्री बन्छु भनेर राजनीतिमा लागेको मलाई कहिल्यै भान भएन । सरल र सौम्य स्वभावका थापा राजनीति संग्लिनुपर्छ भनेर दृढ उभिएका हुन् । उनले धेरै युवालाई प्रेरणा दिए। उनको इमान र सरलताले धेरैको मन जित्यो।’ गीतकार भुपेन्द्र खड्काले उज्वललाई‘इमानको राजनीति गर्ने र बामे सर्दै गरेको एक राष्ट्र सेवक’ भनेका छन् ।

बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेका उज्वलले हरेक आन्दोलनमा ढुंगामुढा होइन शान्तिपूर्ण तरिकाले, छातीमा प्लेकार्ड टाँसेर र सडक छेउमा उभिएर गर्नुपर्छ भन्ने सिकाएका थिए । २०६८ सालदेखि नै नेपाल खुल्ला छ अभियान चलाएका उनले नेपाल कहिल्यै बन्द छैन भनेर प्रचार गर्ने गर्थे । पहिलो संविधान सभा असफल भएपछि उनले ‘ज्याला पूरा लियौ, अब संविधान देऊ ’भन्ने नारा घन्काएका थिए । वैकल्पिक शक्ति बनाउन भन्दै थापाले विवेकशील नेपाली दल संविधानसभाको दोस्रो निर्वाचनलगत्तै २०७१ मा निर्वाचन आयोगमा दर्ता गराएका थिए । दोस्रो संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा कुकुर चुनाव चिह्न काठमाडौं- ५ बाट चुनाव लडेका थिए ।

रामेश कोइरालाले थापालाई ‘अपलिटिकल आइडल’ नै मानेका छन् । उनले लेखेका छन्,‘निक्कै कुरामा सहमति तथा थोरैमा असहमतिसाथ केसीको आन्दोलनमा पटकपटक भेट भएका अनि भुइँचालोपश्चात दिनरात घरलाई नै राहत संकलन केन्द्र बनाएर निस्वार्थ खटेका ती मानिस मेरालागि ‘अपलिटिकल आइडल’ हुन् र तिनको त्यो देश बनाउने हुटहुटीको दियो जलिरहोस् ।’

रामकुमारी झाँक्रीले नेपाली राजनितीमा एउटा फरक आयाम भित्राउन कोसिस गर्ने, स्वपनाजीवी युवा र लाखौ युवाको आईकन हो’ भनेकी छन् । अग्रज पत्रकार विजयकुमार पाण्डेले ‘राजनीतिमा जसरी पनि सत्ता र सामान्य व्यवहारमा जसरी पनि पैसा बाहेक सबथोक फजुल हो’ भन्ने बिषालु झार सर्वत्र फेलिरहेको बेला, उज्वलदाई जनताले दिएको स्नेहले नयाँ मान्यता स्थापित गर्न खोजेको’ भनेर ब्याख्या गरेका छन् ।

व्यवसायिक साझेदारी समेत गरेका मनिष झाले उज्वललाई अरू दलहरूले देश ठप्प पार्दा, ‘नेपाल खुल्ला छ’, ‘नेपाल हाम्रो घर हो डेरा हैंन’ ‘बिकल्प भन्ने हैन, बन्ने हो’ भन्दै युवाहरूलाई राजनीतिमा जोड्ने साथै एकतर्फी बोल्ने हैन, अरूको कुरा सुन्ने ब्यक्तीका रुपमा औंल्याएका छन् । योजना आयोगका पूर्वउपाध्याक्ष डा.गोविन्द पोखरेलले परम्परागत राजनीतिलाई सुधार्नुपर्छ भन्दै अहिंसात्मक आन्दोलनका रुपमा बैकल्पिक राजनीतिलाई भुईमान्छे बीच पुर्याउने अभियन्ताका रुपमा बुझेका छन् ।   

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ