arrow

मस्कको भारत भ्रमण स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
elon_musk.png
तस्बिर – फाइल ।

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । 

मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको एक दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो । 

“दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु”, आफ्नो सामाजिक मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा उनले भने । 

सञ्चारमाध्यमहरूले आइतबारदेखि हुने दुई दिवसीय भ्रमणका क्रममा मस्कले मोदी र एयरोस्पेस कम्पनीहरूसँग भेट गर्नुहुने बताएका थिए । 

गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने स्थानहरूको खोजी गरिरहेको थियो । कम्पनीले ५० करोड डलर लगानी गर्ने र तीन वर्षभित्र स्थानीय उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको थियो । 

सरकारको उक्त नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका आठ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ । 

टेस्लाले उत्पादन लाइन स्थापना गर्नेबारे अन्तिम निर्णय नलिएसम्म उसले पहिलो पटक आफ्नो बर्लिन कारखानाबाट कारहरूको आयात गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । टेस्लाका कारहरूको मूल्य धेरै भएकाले भारतीय बजारमा कम्पनीलाई तत्काल बढत मिल्ने सम्भावना कम रहेको विशेषज्ञहरूले बताएका छन् । 

टेस्लाको अहिलेसम्मको सबैभन्दा सस्तो मोडेल भनेको मोडेल ३ सेडान हो । यसको मूल्य अमेरिकामा करिब ३९ हजार डलर छ । भारतमा मस्कको वर्तमान व्यावसायिक रुचि यसअघि ट्विटर नामले चिनिने एक्ससम्म सीमित छ । 

आफ्नो सामाजिक मिडिया प्लेटफर्ममा कथितरूपमा आलोचनात्मक पोस्ट हटाउन भारत सरकारको मागलाई लिएर उहाँले अभिव्यक्ति स्वतन्त्रताका कार्यकर्ताहरूको प्रश्नहरूको सामना गर्नुपरेको छ । 

आफूलाई मोदीको प्रशंसक बताउने मस्कले पछिल्लो पटक सन् २००७ मा भारतको भ्रमण गरेका थिए र भारतलाई ‘अद्भूत’ भन्दै ताज महल ‘वास्तवमा विश्वको आश्चर्य’ रहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ