arrow

डाउनट्रेन्डमा शेयर बजार, अनुमान फेल खाँदा विश्लेषक हायलकायल

logo
शंकर अर्याल, 
प्रकाशित २०८१ वैशाख ८ शनिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चैतको अन्तिम साता शेयर बजार घट्दा विश्लेषकहरुले भनेका थिए, ‘क्वार्टरको अन्तिम समय हो, बैंकको किस्ता र ब्याज तिर्नुपर्ने भएकोले सेलिङ प्रेसर परेको हो । यो ह्याङओभर सकिएपछि बजार बढ्छ ।’

नभन्दै २०८० सालको अन्तिम कारोबार दिनहरुमा शेयर बजारले यस्तै संकेत गर्यो । बेचेको शेयरको पैसा आउन ३ देखि ४ दिन लाग्ने भएकाले शेयर बेचेरै किस्ता र ब्याज तिर्नैपर्ने अवस्था भएकाहरुले अलि अगाडि नै शेयर बेचे । जब शेयर बिक्री गर्दा चैतभित्रै पैसा नपाइने अवस्था भयो अनि बजार बढेको थियो । 

चैतको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज ह्वात्तै घटाए । बैंकहरुले औसत ०.९८ प्रतिशतसम्म ब्याज घटाएका थिए । त्रैमास सकिएको कारणले अब ऋणको ब्याजदरमा पनि नयाँ बेसरेट लागू हुन्थ्यो, त्यसैले ऋणको पनि ब्याज घटेकै थियो । बजारलाई दोहोरो राहत दिने ब्याजदर घट्दासमेत बजारमा सकारात्मक प्रभाव देखिएन । 

चार दिनको कारोबारमा शेयर बजार ५३.५४ अंकले घटेर बजार १ हजार ९ सय ७२ दशमलव १४ अंकमा झरेको छ । बजार गिरावटको बाबजुद यो अवधिमा बजारको कारोबारसमेत घटेको छ । चार दिनको यो अवधिमा ९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   

त्यसो त दुई हजार अंकको मनोवैज्ञानले समेत बजारको गिरावट रोक्न सकेन । यो मनोविज्ञान यति हावी भएको थियो कि नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरकमा सभापति समेत रहेका चर्चित लगानीकर्ता अम्बिका पौडेलले भनेका थिए, ‘कि अबको पुस्ताले नेप्से परिसूचक दुई हजार अंक भन्दा तल गएको देख्दैन नै भनेका थिए ।’ 

बजार सोचेअनुसार भएन । मंगलबार दोहोरो अंकको गिरावट आएर उक्त बोर्डरलाई क्रस गरेको बजारले बिहीबार पनि त्योभन्दा ठूलो गिरावटलाई समात्यो । बजार दुई हजार भन्दा तल झरेपछि पौडेलले ‘चैते दशैं कहिलेकाहीँ बैशाखमा पर्न सक्छ, तर जेठमा पर्दैन’ लेखेका थिए । बजार दुई हजारको छेउछाउमा पुगेको हो, त्योभन्दा धेरै तल जाँदैन भन्ने उनको आशय थियो । तर, अर्को दिन बजार झण्डै १९.५६ अंकले घटेको छ । आफ्नो पूर्वानुमानकै कारण उनी सामाजिक सञ्चालमा आलोचित समेत भएका छन् । 

शेयर बजारमा निराशाको कारण
शेयर बजारका लगानीकर्ताको मनोबल बढाउनसक्ने सरकारी नीति नहुँदा वित्तीय सूचकको सहज हुँदा समेत शेयर बजार बढ्न सकेको छैन । खासगरी नयाँ सरकार गठन भएपछि सरकारले लिने नीति र नेपाल राष्ट्र बैंकसँग सरकारको सम्बन्धको विषयमा शेयर बजारले एक प्रकारको अपेक्षा गरेको थियो । समयले यो अपेक्षा पूरा नगरेको मात्रै होइन, झनै निराश अवस्था सिर्जना गरिदियो । 

सरकारको समीकरण परिवर्तन भएर नयाँ अर्थमन्त्री आएपछि पूँजी बजार सुधारका लागि गरेका प्रतिवद्धता र सुधारका लागि गरिएको प्रयास अहिले अर्थमन्त्रीकै टेबुलमा थन्किएको छ । शेयर लगानीकर्ता संघका कार्यकावाहक अध्यक्ष ताराप्रसाद फुल्लेल अर्थमन्त्रीले आफैँले गर्नसक्ने कामहरु समेत पछिल्लो समय रोकेर राखेको बताउँछन् । यसमा कुनै स्वार्थ हाबी भएको उनको विश्लेषण छ । 

उनी भन्छन्, ‘शेयर बजारको सुधारका अर्थमन्त्रीज्यूले सकारात्मक प्रयास गर्नुभएको थियो । हामीले त्यसका लागि सुझाव पनि दिएका थियौं । उक्त सुझावलाई धितोपत्र बोर्डले मन्त्रालय पठाएको भनेको छ तर बोर्ड  र मन्त्रालय दुवैले सार्वजनिक गरेको छैन । जहाँ सूचनाको पहुँच वञ्चित गरिन्छ, त्यहाँ शंका गर्ने ठाउँ हुन्छ, यहाँ पनि भित्रभित्रै केही भइरहेको त छैन भन्ने हाम्रो शंका छ ।’

त्यसो त शेयर कारोबारमा लाग्दै आएको कमिसन घटाउनुपर्ने विषय पनि कार्यान्वयन नगरिएको लगानीकर्ताहरुको गुनासो छ । धितोपत्र बोर्डले गठन गरेको एउटा समितिको सुझाव बमोजिम अहिले बोर्डले ब्रोकरको कमिसन १० प्रतिशत घटाउन मन्त्रालयमा सिफारिस गरेर पठाएको छ । रमेश हमाल अध्यक्ष हुँदा पठाइएको उक्त सिफारिस अहिलेसम्म स्वीकृत भएको छैन । ब्रोकरहरु भने अहिलेकै अवस्थामा कमिसन घटाउँदा आफूहरु टिक्ने नसक्ने दाबी गर्दै आएका छन् ।  

अहिले बोर्डको अध्यक्षको नियुक्तिमा गरिएको ढिलाइका कारण पनि बजारको मनोविज्ञान कमजोर भइरहेको छ । अध्यक्ष नियुक्तिका लागि गठन गरेको समितिको सदस्यको योग्यता, सर्टलिष्टमा परेको व्यक्तिको अन्तर्वार्तासमेत रोकिने अवस्था लगायतको कारणले बजारप्रति अर्थमन्त्रीको संवेदनशीलतामाथि प्रश्न उठ्न थालेको विश्लेषकहरु बताउँछन् । 

अहिले धितोपत्र बोर्डको अध्यक्षमा काम गर्न पाउने गरी अर्थ मन्त्रालयका तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यलाई तोकिएको छ । हाल सहसचिव रितेश शाक्य सो भूमिकामा छन् । तर, उनले अहिलेसम्म कार्यभार सम्हालेका छैनन् । 

अर्थमन्त्रीले ग्रीन सिग्नल नदिएको र बजेटको कामले फुर्सद नभएकोले उनी कार्यभार सम्हाल्न नगएका हुन् । नियामक निकायको नेतृत्व विहिनताको असर कुनै न कुनै बजारमा परेको विश्लेषकहरु बताउँछन् ।

त्यसो त, बैंक तथा वित्तीय संस्थाको खराब रिपोर्टसम्बन्धी विवरण बजारमा चुहिँदा समेत यसले नकारात्मक प्रभाव परेको हुनसक्ने विश्लेषकहरु बताउँछन् । शुक्रबार अधिकांश बैंक तथा वित्तीय संस्थाले प्रकाशन गरेको त्रैमासिक विवरणमा वित्तीय अवस्था राम्रो देखिएको छैन । वाणिज्य बैंकहरुको नाफा त अघिल्लो वर्ष भन्दा झण्डै ५ अर्बले घटेको छ । निष्क्रिय कर्जा अनुपात बढ्दा बैंकहरुको वितरणयोग्य नाफा निकै घटेको छ । आधा भन्दा बढीको त यस्तो नाफा नकारात्मक अवस्थामा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ