arrow

सरुभक्तलाई हेमराज पहारी स्मृति पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
sharu-bhakta-samman.jpg

पोखरा । सातौँ हेमराज पहारी स्मृति पुरस्कार २०८० साहित्यकार सरुभक्तलाई प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित कार्यक्रममा शिक्षाविद् जर्ज जोनले एक लाख रुपैयाँ नगद पुरस्कार, ताम्रपत्र र दोसल्लाले सरुभक्तलाई सम्मान गरे ।

साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कार यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्यालाई प्रदान गरेको थियो ।

कार्यक्रममा जर्ज जोनले हेमराज र सरुभक्त आफ्ना मेधावी विद्यार्थी भएको भन्दै आफ्नै हातले सरुभक्तालाई पुरस्कृत गर्न पाउँदा निकै खुसी लागेको बताए ।

उनले भने, ‘हेमराज के कारणले शिक्षण पेसा रोज्नुभयो मैले त्यो बुझ्न सकेको छैन । तर असल शिक्षक हुनुहुन्थ्यो भन्ने जानकारी पाउँदा अत्यन्तै खुसी लाग्यो ।’

‘उहाँ अत्यन्तै अनुशासित विद्यार्थी हुनुहुन्थ्यो । उहाँका अक्षर निकै सुन्दर थिए । आफू पनि निकै सुन्दर भएर हिंड्थे । हेमराजका सपना पुरा गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ, उहाँद्वारा रचित रचनाहरू बाँकी छन् भने प्रकाशन गर्नतर्फ ध्यान दिनुपर्छ’, जर्ज जोनले भने ।

सम्मानित सरुभक्तले हेमराज आफ्ना पनि गुरु भएको भन्दै उहाँबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताए । गुरुको स्मृतिमा स्थापित पुरस्कार पाउन योग्य ठहरिँदा आफू अत्यन्तै गौरवान्वित भएको उनले बताए ।

प्रतिष्ठानसँग विगतमा पनि सँगै रहेर काम गरेको, बिचमा समय अभावले केही टाढा भएको महसूस भएको भन्दै आगामी दिनमा सँगै रहेर संस्थालाई अघि बढाउन सघाउने प्रतिवद्धता जनाए ।

कवि तीर्थ श्रेष्ठले तत्कालीन राष्ट्रिय बहुउद्देश्यीय माविलाई अघि बढाउन हेमराज पहारी र खेमराज पौडेलले खेलेको भूमिका निकै सराहनीय भएको बताए । हेमराज र खेमराज दुवै अत्यन्तै राम्रा शिक्षक भएको भन्दै अहिले दुवै गुरुलाई गुमाउनु पर्दा आफू निकै मर्माहत भएको उल्लेख गरे ।

उनले, ‘हेमराजले प्रगतिशील र खेमराजले प्रजातान्त्रिक धार लिएर निकै अगाडि बढ्नुभयो, सबैलाई प्रेरणा दिनुभयो । तर उहाँहरुले झगडा गरेको, सिद्धान्तले विद्यालयमा समस्या पारेको कहिल्यै पाएनौँ । उहाँहरूबाट अहिलेका नेताहरूले पाठ सिक्न जरुरी छ ।’

कार्यक्रममा लोकगायिका एवं प्रतिष्ठानका सदस्य हरिदेवी कोइराला, प्रतिभा छनोट समिति संयोजक एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरेली युवा साहित्य परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाली लेखक संघ कास्कीका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ प्रतिष्ठानका उपाध्यक्ष गोविन्दराज पहारीले बोलेका थिए । प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार असफल गौतमले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ