arrow

यसरी बन्छ बलियो कांग्रेस 

logo
पासाङ शेर्पा,
प्रकाशित २०८१ वैशाख ८ शनिबार
pasang-sherpa-81-01-08.jpg

नेपाली कांग्रेस सबै परिवर्तनको नेतृत्व गरेको, मुलुकको सबैभन्दा पुरानो र आज पनि संसदमा ठूलो पार्टी छ । कांग्रेसको पार्टी जीवनमा अनेक आरोह अवरोहहरू छन् । असाध्यै सङ्गीन संकटका घडीदेखि सत्ता सयरका गजब आनन्दका दिनहरू पनि छन् । पार्टी धान्न मुस्किल भएका चरम आर्थिक सङ्कट र निर्वासनमा बस्दा सातु र चना पानीसँग खाएर कष्टपूर्ण जीवन निर्वाह गरेका दिनहरू पनि छन् । 

मारिनु, बेपत्ता पारिनु, सर्वश्वहरण हुनु, निर्वासनमा जान बाध्य पारिनु, कांग्रेस भएकै कारण जीवनलीला समाप्त गरिनु जस्ता अनेक दुरुह अवस्था पार गर्दै कांग्रेस यहाँसम्म आइपुगेको हो । यी सबै कुराको पछाडि एउटा मूख्य कारण र केही पूरक कारणहरू थिए । कांग्रेससँग सबैभन्दा ठूलो र महत्वपूर्ण पूँजी थियो नैतिक पूँजी, देशलाई प्रजातान्त्रिक लिकमा लैजाने वैचारिक धरातल थियो । जति कष्ट र जति लोभ देखाए पनि नगल्ने नेताहरूमा आत्मविश्वास र सैद्धान्तिक निष्ठा थियो । 

कांग्रेस धेरै पटक हार्यो, आफैसँग हार्यो, आफ्नाले दिएको धोकासँग हार्यो, राजासँग हार्यो, कम्युनिष्ट पार्टीहरूसँग चुनाव हार्यो तर राजनीति कांग्रेसले हारेको थिएन र आज पर्यन्त अपवाद बाहेक कांग्रेसले शिर झुक्ने गरी राजनीति हारेको छैन । केही तलमाथि परेका छन्, केही प्राविधिक र सैद्धान्तिक त्रुटि भएका छन् तर कांग्रेसको निरन्तरको निष्ठा हारेको छैन र कसैसँग सम्झौता गरेको छैन । यदाकदा चिप्लेर लडेको कांग्रेससँग हिलो पुछेर, धुलो टक्टक्याएर, मर्केको खुट्टामा व्याण्डेज लगाएर हिँड्ने सामर्थ्य छ । कांग्रेसमा परेको घाउ पुरिएर स्वस्थ्य कांग्रेस बन्ने सम्भावना जहिल्यै ज्यूँका त्यूँ छ ।  

कांग्रेसलाई समयानुकूल बनाएर लैजाने नेतृत्वमा युवाहरू छन् सबैभन्दा ठूलो कुरा कांग्रेसका । ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य र क्रियाशील बाहेकका लाखौँ कांग्रेस सदस्य छन् । १ लाख १४ हजार ५ सय २५ क्षेत्रीय प्रतिनिधि र जसमा ४० प्रतिशत महिलासहित समावेशी सहभागिता छ । ४७४३ महाधिवेशन प्रतिनिधिहरू छन् । आफ्ना पूर्वजको त्याग तपस्याको कारण कांग्रेसलाई माया गर्ने लाखौँ जनसाधारणहरू छन् । १३ भ्रातृ र २६ शुभेच्छुक संस्थामा आबद्ध समर्पित सदस्यहरूको संख्या ठूलो छ । 

कांग्रेसको प्रतिकूल अवस्थामा पनि साथ र सहयोग गर्ने लाखौँ जनसाधारण गाउँ गाउँमा छन् । जसले निरन्तर कांग्रेसलाई साथ दिएका छन् समर्थन गरेका छन् । गर्दन सेरिन तयार भएर पार्टीको निष्ठा आदर्श र साख बचाएर राख्ने मान्छेहरू छन् । तसर्थ कांग्रेसमा शक्तिको क्षय हुने कुनै गुन्जायस छैन ।

कांग्रेस पार्टीका महामन्त्री गगन थापाले महासमितिको बैठकमा पेश गरेको दस्तावेजमा भने झैँ २०७८ मा सम्पन्न १४औँ महाधिवेशनपछि केन्द्रदेखि ६७४३ वडा र त्यस अन्तर्गत रहेका रहेका हजारौँ टोलसमितिहरू छन् । सम्पर्क समितिहरू छन् देशतभर मात्र होइन संसारभरका ३७ वटा जनसम्पर्क समिति मार्फत हजारौँ सदस्य सङ्गठित छन् । नेपाली काांग्रेस सबैभन्दा, ठूलो साङ्गठनिक संरचना भएको दल बनेको छ । 

कांग्रेसको चौधौ महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उल्लेख गर्नु भए झैं ‘कांग्रेस हुनु भनेको अधिकारको आधार मात्र होइन, जिम्मेवारी र कर्तव्यबोधको दायित्व पनि हो’ यसले कांग्रेस हुनुको औचित्य पुष्टि गर्दछ र आज सबैभन्दा खड्किने विषय नै अधिकारको कुरा गर्ने तर कर्तव्य र दायित्वबोध नगर्ने राष्ट्रिय चरित्र विकसित हुँदैछ । जसलाई कांग्रेसले चिरेर आफ्नो विशेष धरातल र उपस्थिति निर्माण गर्नु पर्नेछ । कांग्रेस हुनुको महत्व दर्साउनु छ । 

गगन थापाको प्रस्तावमा भनिएको छः ‘हरेक हातलाई काम र हरेक काँधलाई जिम्मेवारी’ र कामको आधारमा मूल्याङ्कन र कार्यक्षमताको आधारमा जिम्मेवारी (साङ्गठनिक सुधार कार्ययोजना बुँदा नं. ३ उल्लेख ) यो मान्यता कांग्रेसले राम्रोसँग अवलम्बन गर्न सक्यो भने कांग्रेसलाई पछाडि फर्केर हेर्नुपर्ने स्थिति बन्दैन । 

काम र जिम्मेवारीको तालमेल मिलाउन सक्दा आजसम्म पूरा गर्न नसकिएका थुप्रै काम सम्पन्न हुनेछन् । कांग्रेसको भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्गठनसहित स्वयं कांग्रेस ऊर्जामय हुनेछ र कांग्रेस सङ्गठनमा नयाँ रक्तसंचार हुनेछ । देशमा नै नयाँ आशाको सन्देश फैलने छ । किनकि कांग्रेसले गर्ने हरेक निर्णयले आजसम्म देशलाई अगुवाई गरेका दृष्टान्तहरू छन् २००७ को क्रान्तिदेखि २०६२–०६३ सम्मका आन्दोलन र गणतन्त्र घोषणा २०६५ जेठ १५ सबैमा कांग्रेस नेतृत्वमा प्राप्त उपलब्धिहरू हुन् । हालको संविधान निर्माणमा पनि चार जना कम्युनिस्ट नेताहरू प्रधानमन्त्री हुँदा बन्न नसकेको काम स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा सम्पन्न गरियो जतिबेला कोइराला कांग्रेस पार्टीको सभापति र प्रधानमन्त्री थिए । 

कांग्रेसको नेतृत्व व्यवस्था परिवर्तनको आन्दोलनमा खरो उत्रिएको इतिहास छ । यद्यपि कांग्रेस यदाकदा नचुकेको र सरकार संचालन गर्ने क्रममा बाटो नबिराएको पार्टी हो यो मेरो दाबी होइन । कांग्रेस कमजोरीसहित नै अन्य पार्टी दल र नेता भन्दा विशेष नेतृत्वदायी क्षमता भएको पार्टी भन्ने कुरा इतिहाससिद्ध विषय हो । कांग्रेसले चुनावअघि नै गठबन्धन गर्ने जुन नीति अख्तियार गर्यो त्यो दुर्भाग्यपूर्ण र ऐतिहासिक गल्ती हो । चुनावअघिको गठबन्धनले पार्टीको आफ्नो स्वत्व समाप्त हुनुको साथै प्रतिस्पर्धी क्षमतामा खिया लाग्दछ । जसको परिणाम २०७४ को स्थानीय चुनाव २०७९ को स्थानीय चुनाव र सङ्घ र प्रदेशको चुनावमा गरेर कांग्रेसले गम्भीर भूल गरिसकेको छ । त्यो भूलको प्रायश्चित कांग्रेसलाई पक्कै लाग्ने छ ।
 
लोकतन्त्रमा बहुदलीय व्यवस्थाको सौन्दर्य र मानक भनेको नै भिन्न भिन्न पार्टीको बीचमा प्रतिस्पर्धा र छनोट हुन्छ । कांग्रेसका संस्थापक नेता बीपीले पञ्चायत फाल्ने आन्दोलनसमेत कम्युनिस्टसँग मिलेर गर्न चाहेनन् तर आजको कांग्रेस कम्युनिस्टको बैशाखी बिना एक पाइला चाल्न आनाकानी गर्छ । 

पार्टी पनि स्वार्थ समूहकै बहुआयामिक र बृहत्तर रूप हो तर अहिले बन्ने र भत्किने समीकरण पार्टी एकता सानो स्वार्थ समूहको आपसी लेनदेन र विशेषतः उच्च ओहोदाका नेताहरूको स्वार्थको सौदाबाजी बन्यो । लोकतन्त्रको लागि भन्दै दल मिल्ने र चुनावमा गठबन्धन गर्ने कुरा केवल देखाउने दाँत भनेर बुझ्न सकिन्छ अन्तर्य नेताका आफ्ना मान्छे जिताउन र आफू सुरक्षित हुन गठबन्धनको चर्चा र अनिवार्यता देखिएको छ ।

अर्को पार्टीमा भोट नहाल्ने हो भने पार्टी छोडेर जान आफ्नै कार्यकर्तालाई धम्की दिने स्थिति आउनु कति लाज मर्दो कुरा हो ? तसर्थ यति धेरै अनैतिक बन्नुभन्दा पार्टीले चुनावमा पराजय बेहोर्ने कुरा सामान्य हो तर राजनीतिक सिद्धान्त आदर्श र प्रतिस्पर्धात्मक अवधारणा छोडेर चुनावमा गठबन्धन गर्नु हदैसम्मको अनैतिक कर्म हो । सरकार बनाउन बहुमत पुर्याउन अरू पार्टीको सहारा लिनु र चुनाव जित्नकै लागि अन्य पार्टीसँगको मोर्चाबन्दी बहुदलीय व्यवस्थाको मर्म, भावना, उदेश्य र सार्थकता विपरीत दुई फरक कुरा हुन् । 

असैद्धान्तिक, अनैतिक, अप्राकृतिक र असंगत कुरा छोडेर कांग्रेस आफ्नो लिकमा हिंड्ने, आगामी चुनाव एक्लै र आफ्नै सामर्थ्यले लड्ने र जनता तथा पार्टी कार्यकर्तालाई आफ्नै रुख चिन्हमा मतदान गर्ने वातावरणको सुनिश्चितता गर्ने महामन्त्री गगनकुमार थापाको सङ्कल्प प्रस्ताव कांग्रेसले आफ्नो सार्वभौम पहिचान र लोकतन्त्रवादीको हैसियत जोगाउने उच्च विचार हो ।
 
नेपाली कांग्रेसको वैचारिक र लोकतान्त्रिक छविलाई यहाँसम्म ल्याई पुर्याउन महामानव बीपी कोइरालालले मार्गदर्शन गरेको विचारलाई निरन्तरता दिन शैलजा आचार्य, भीमबहादुर तामाङ, रामहरि जोशी, महेन्द्रनारयण नीधि र प्रदीप गिरीले खेलेको भूमिका अतुलनीय छ । त्यस्तै नरहरि आचार्य र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल लगायतले दिएको वैचारिक आदर्श, गरेका आलोचनात्मक र रचनात्मक दृष्टिबोध हाम्रा गर्व गर्न लायक पूँजी र नैतिक तागतहरू हुन् । 
बदलिँदो परिस्थति र विश्व परिवेशमा नेपाली कांग्रेसलाई गतिमय र विचारवान, आदर्शवान र अगुवा पार्टी बनाउन केही मानकहरू स्थापना गर्नु पर्ने देखिन्छ । पार्टीभित्र जमेर बस्ने गरेको नेतृत्वको जाम खुलाउन उदाहरण पेश गर्नु पर्नेछ । जसको लागि महामन्त्री विश्वप्रकाश शर्माद्वारा महाधिवेशनको हलमा प्रस्तावित एक्जिट पोलिसी सान्दर्भिक र सबै दलको लागि अनुशरणीय  देखिन्छ । 

समसामयिक राजनीतिक प्रस्तावको दस्तावेजमा समेटिएको मूलतः १० बुँदे विषयमध्ये पनि यहाँ नेतृत्वको वहिर्गमन नीति बारेको व्यवस्थाबारे चर्चा गरौँ । नेताको रिटायरमेन्ट सम्बन्धी प्रस्ताव र फर्मूला आजसम्म आएका सूत्रमध्ये वास्तविक छ । यसलाई बुँदा नं. ९ को (ख) मा व्यक्ति बहिर्गमनको पद्धति (एक्जिट पोलिस) मा समावेश गरिएको छ ।  

शक्ति सहजै त्याग्ने र नयाँको लागि ढोका खोलिदिने वातावरण निर्माणको लागि हरेक पुराना दलमा नेतृत्व कहिले र कसरी फेर्ने र छोड्ने भन्ने विषय पेचिलो छ । अवसरको वितरणमा पनि जालझेल हुने र शक्तिकेन्द्रको मान्छे किचेन क्याबिनेटको मान्छेमात्र अनवरत अवसर पाइरहने प्रवृत्तिले दलहरूमा असन्तुष्टि, विद्रोह र अन्तर्घात जस्ता दुर्गुणहरू मौलाएका छन् । 

शक्तिकेन्द्रको नजिक रहने र प्रिय बन्नेको मात्र भागमा अवसर पर्नु र अन्य असन्तुष्टिको आगो बोकेर बस्नुपर्ने नीति र नियतिले पार्टीको हित कदापि गर्न सक्तैन । त्यसैले नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित नेता विस्थापन र नयाँको प्रतिस्थापन नीति राष्ट्रको परिप्रेक्ष्यमा सामयिक र सान्दर्भिक देखिन्छ । तथापि महाधिवेशनको हलबाट पारित भए पनि केन्द्रीय समितिले परिमार्जन गरेर पास गर्ने र परिमार्जन गर्दा यसको मूल मर्म मारियो या विगतमा झैं नीति अधिवेशन र महासमितिले पास गरेको निर्णय उपेक्षा गरियो भने स्थिति आजकोभन्दा अरू खस्कने निश्चित छ ।
 
कांग्रेस केन्द्रीय समितिले नीति अधिवेशन र महासमिति बैठकको निर्णयलाई आत्मसात् गरेर नै महामन्त्री शर्माद्वारा प्रेषित नीति पास र कार्यान्वयन गर्ने विश्वास लिइन्छ । पार्टीहरूको घट्दै गएको जनमत, खस्कँदै गएको साख र टुट्दै गएको जनविश्वास (पार्टीहरूको निर्वाचनमा मत क्रमशः घट्दै गएको छ) लाई पुनः वृद्धि गर्न र यथास्थितिमा राख्न पनि केही आकर्षक र आवश्यक नीतिको आवश्यकता देखिन्छ । जसलाई कांग्रेसको नीति मन्थनले अनुमोदन गरेको छ ।

यथास्थितिमा जकडिएको कांग्रेसलाई यो नीतिले संजीवनी बुटी प्रदान गर्ने आशा गर्न सकिन्छ । नेताको अवकाश नीति भने सम्मानजनक र स्वेच्छिक हुनु वाञ्छनीय छ । नीतिको मर्म बुझेर र बोकेर नेताहरू अवकाशमा जानुमा जति मजा छ त्यति मजा विधि र विधानको डण्डा तेर्स्याएर जानुमा छैन । बारम्बार नैतिकता र नीतिको प्रश्न उठाउनुमा छैन । विधि बनेपछि त्यो विधिको पालना नैतिक धर्म, स्वेच्छिक कर्म बन्न सक्नुपर्छ । 

नेपाली कांग्रेस र दलित समुदाय बीचमा एउटा गर्विलो इतिहास छ । विसं २००९ सालमा जनकपुरमा सम्पन्न पाँचौँ महाधिवेशनले नै दलित समुदायलाई भेदभाव गर्ने वा जातीय विभेद गर्नेहरूलाई पार्टीको सदस्यता नदिने निर्णय लिएको थियो । सो अधिवेशनले ‘दलित समुदायले भोग्नु परेको जातीय छुवाछत र विभेदलाई नेपाली कांग्रेसले दण्डनीय मानवीय अपराध’ को रूपमा लिएको छ ।

त्यस्तैगरी राज्यका सम्पूर्ण अङ्ग र तहमा बहिष्करणमा पारिएका समुदायको जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि आवश्यक पर्ने नीतिगत तथा कानून संशोधन गर्न नेपाली कांग्रेस प्रतिबद्धता व्यक्त गर्दछ । त्यसैगरी आदीवासी र जनजाति सम्बन्धमा कांग्रेसको धारणा पूर्णबहादुर खड्काले यसरी उल्लेख गरेका छन्ः ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता स्व.भीमबहादुर तामाङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनलाई आत्मसात गर्दै “पहिचान भेटिने, द्वन्द्व मेटिने” नीति निर्माण गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ । आदिवासी जनजातिको बाहुल्य भएको निर्वाचन क्षेत्रमा आदिवासी जनजातिलाई नै प्रतिनिधिमूलक रूपमा प्राथमिकता दिइने छ । साथै तराई मधेशमा रहेका आदिवासी जनजाति समुदायको न्यायोचित र सम्मानजनक सहभागिता गराइनेछ । 

कांग्रेसको आदिवासी जनजाति सम्बन्धी नीति त्यतिबेला औचित्यपूर्ण हुन्छ जतिबेला कांग्रेसको भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आदिवासी जनजातिको विशेषाधिकार सुरक्षणको सवालमा छुट्टै मन्त्रालयको माग गरेर आफ्नो केन्द्रीय समितिद्वारा पास गरेको छ । यो विषयलाई कांग्रेसले आफ्नो नेतृत्वको सरकार बन्दा पालना गर्ने र अगुवाइ गर्ने उदारता देखाउन सक्नु पर्दछ ।

महामन्त्री गगन थापाद्वारा महासमिति बैठक माघ ७–१० गोदावरीमा प्रस्तावित साङ्गठनिक प्रस्तावका २० बुँदा, अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘समसामयिक राजनीतिक प्रस्ताव’का १० बुँदा र पार्टी उपसभापति पूर्णबहादुर खडकाले पेश गरेको ‘नेपाली कांग्रेसको नीति प्रस्ताव’ का हरेक विषयले नेपाली कांग्रेसलाई आगामी दिनमा स्पष्ट दिशाबोध गर्नेछ दिशाहीन बन्न दिने छैन ।

नीति जस्तोसुकै भए पनि त्यसको कार्यन्वयन सबल चुस्त र दुरुस्त बन्न सकेन भने सार्थकता भेट्टाउन सकिन्न । अतः कांग्रेस आफ्नो प्रतिबद्धतामा कृतसङ्कल्पित बन्यो भने कांग्रेस आफू बन्ने र देश बनाउने कुरामा सन्देह गर्न सकिन्न । कांग्रेस महासमितिबाट पारित महामन्त्री शर्माले भनेजस्तै उल्लिखित बुँदाहरूलाई कार्यन्वयनमा लैजान सकियो भने अझ बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउन सकिन्छ । (लेखक शेर्पा लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय सदस्य तथा अनुसन्धाता त्रिविविका एमफिल पीएचडी हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ