arrow

भारतमा चुनावी महासंग्राम

पहिलो चरणमा २१ राज्यका १०२ सिटमा चुनाव, ६८ प्रतिशत मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
election-india-2024-04-19b.jpg
तस्बिर – विवाह बन्धनमा बाँधिएपछि पति–पत्नी मतदानमा । सौजन्य– भास्करबाट ।

नयाँदिल्ली । भारतमा शुक्रबारदेखि सन् २०२४ को १८ औँ लोकसभा निर्वाचन शुरु भएको छ । भारतको इतिहासमै सबैभन्दा लामो चुनाव सात चरणमा सकिँदैछ । अन्तिम मतदान आगामी जुन १ तारिखमा हुनेछ । 

पहिलो चरणमा शुक्रबार २१ राज्यको १०२ सिटमा मतदान भएको छ । ६८.२९ प्रतिशत मत खसेको चुनाव आयोगले जनाएको छ । सन् २०१९ को तुलनामा यसपालि १ प्रतिशत कम मत खसेको छ । २०१९ मा पहिलो चरणमा ९१ सिटमा ६९.४३ प्रतिशत मत खसेको थियो । 

यसपालि सबैभन्दा बढी लक्षद्वीपमा ८३ प्रतिशत र सबैभन्दा कम बिहारमा ४९ प्रतिशत मत खसेको छ । 

यससँगै अरुणाचल प्रदेशको ६० र सिक्किमको ३२ विधानसभा सिटका लािग पनि मतदान भएको छ । दुवै राज्यका एक एक लोकसभा सिटमा सँगसँगै मतदान भएको छ । अरुणाचलमा ७६.४४ तथा सिक्किममा ७९.८६ प्रतिशत मतदान भएको छ । 

मणिपुरको दुई लोकसभा सिट (मणिपुर इनर र मणिपुर आउटर) मा पनि पहिलो चरणमै मतदान भएको छ । 

आउटर सिटका केही भागमा २६ अप्रिलमा मतदान हुनेछ । जसमा आठ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र पूर्वराज्यपाल मैदानमा रहेका छन् । 

सन् २०१९ मा यिनै १०२ लोकसभा सिटमा भाजपाले ४०, डीएमकेले २४, कांग्रेसले १५ सिट जितेको थियो भने अन्यले २३ सिट जितेका थिए । यसपटक पनि यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा भएको छ । 

दुई राज्य पश्चिम बंगाल र मणिपुरमा भोटिङका क्रममा हिंसा भएको छ । कयौँ घाइते भएका छन् । 

मणिपुरमा पूर्वी इम्फाल जिल्लाको मोइरंगकम्पूमा भोटिङ मेसिन नै जलाइएको छ । 

नागाल्याण्डका ६ जिल्लामा मतदान लगभग शून्य भएको छ । मोन, लान्गलेङ, तुएनसांग, नोकलाक, शामाटोर र किफिरेमा शून्य मत खसेको हो । यो क्षेत्रमा इस्टर्न नागाल्याण्ड पिपुल्स अर्गनाइजेसनले अलग प्रशासन र पहिले भन्दा बढी वित्तीय स्वतन्त्रताको माग गरेको छ । यी जिल्लामा चुनाव वहिस्कार गर्न अर्गनाइजेसनले अपील गरेको थियो । 

पहिलो चरणमा १ हजार ६२५ उम्मेदवार मैदानमा रहेका छन् । जसमा पुरुष १ हजार ४९१ तथा महिला उम्मेदवार १३४ जना रहेका छन् । 

अनुमान मोदी सरकार निरन्तर

चुनावको पूर्वसन्धामा अनुमान बढिरहेको छ । इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ । 

मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको हो । 

५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । 

भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ । 

प्रदेशअनुसार फरक फरक सिट जित्ने अनुमान गरिएको छ । यस्तो छ सर्वेको आँकडा–

उत्तर प्रदेशमा रहेको ८० मध्ये भाजपाले ७० सिट जित्न सक्नेछ । समाजवादीले ७, अपना दलले २ तथा कांग्रेसले मात्र १ सिट जित्ने दाबी गरिएको छ । 

बिहारको ४० सिटमध्ये भाजपाले ३२, आरजेडी र कम्युनिष्ट पार्टीहरुले ७ तथा कांग्रेसले १ सिट जित्न सक्नेछ । 

पश्चिम बंगालका ४२ मध्ये भाजपाले १९ तथा कांग्रेसले मुस्किलले एक सिट जित्न सक्नेछ । तृणमूलले २२ सिट जित्न सक्नेछ । 

महाराष्ट्रका ४८ मध्ये भाजपाले २२, कांग्रेसले १२ तथा शिवसेना, यूबीटी र एनसीपीले १४ सिट जित्न सक्नेछ । 

मध्यप्रदेशमा २९ सिटमध्ये भाजपाले २७ तथा कांग्रेसले २ सिट जित्ने आँकलन गरिएको छ । 

त्यस्तै सर्भे अनुसार राजस्थानको २५ सिटमा भाजपाले क्लिन स्वीप अर्थात सबै सिट जित्नेछ ।

झारखण्डको १४ सिटमध्ये भाजपाले ११ जेएमएमले २, एजेएसयूले १ सिट जित्दा कांग्रेस रित्तिने सर्वे गरिएको छ । 

पञ्जाबको १३ सिटमा कसैले पनि बहुमत नल्याउने अनुमान गरिएको छ । जसमा कांग्रेस र आम आदमी पार्टीले समान ५–५ सिट जित्दा भाजपाले २ तथा अकाली दलले १ सिट जित्ने अनुमान गरिएको छ । 

हरियाणाको १० सिटमध्ये भाजपाले ८ सिट जित्नेछ भने कांग्रेसले २ सिट जित्नेछ । आइएएनएलडीले कुनै सिट नजित्ने अनुमान गरिएको छ । 

तेलंगानाको १७ सिटमा कांग्रेसले १० सिट जित्ने अनुमान गरिएको छ । यहाँ कांग्रेसले ७ सिटमा सुधार गर्ने अनुमान भइरहेको हो । भाजपाले ३ सिट जित्दा टीआरएसले ३ सिट तथा एआईएमआईएमले १ सिट जित्ने अनुमान गरिएको छ । 

असमको १४ सिटमा भाजपाले १२ सिट, कांग्रेसले २ सिट तथा एआईयूडीएफले कुनै सिट नजित्ने अनुमान गरिएको छ । 

तमिलनाडुको ३९ सिटमा डीएमकेले ३१ तथा कांग्रेसले ८ सिट जित्दा भाजपाले खाता नै नखोल्ने अनुमान गरिएको छ । 

केरलमा पनि भाजपाले कुनै सिट नजित्ने आँकलन गरिएको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्दा एलडीएफले २ सिट जित्ने अनुमान गरिएको छ । 

हिमाचल प्रदेशको ४ सिटमा भाजपाले क्निन स्वीप गर्ने अनुमान गरिएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ