arrow

विविध कार्यक्रम गरी आज धान दिवस मनाइँदै

आजै दही च्यूरा खाइदै

logo
प्रकाशित २०७३ असार १५ बुधबार
ashar-15.jpg.jpeg

काठमाडौँ। आज असार १५ गते अर्थात् धान दिवस । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको रुपमा लिइने असार १५ गतेका दिन नेपालभर धान दिवस मनाइन्छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ।

कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ। कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । धान खेती हुने क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइँ गरिन्छ भने १० प्रतिशतमा मेसिनबाट धान रोपिन्छ।

नेपालको छैटौं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । राष्ट्रिय कृषि गणना २०६८ ले १० वर्षमा एक लाख २९ हजार हेक्टर उर्बर जमिन बाँझो भएको र एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख गरिएको छ।

संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । वैज्ञानिकका अनुसार २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ