arrow

कार्यदलको बैठक उपलब्धिहिन, सदन सरेको सर्‍यै

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
sansad @@@.jpg.jpeg
काठमाडौं । सत्ताधारी र विपक्षीबीच संसद चलाउने तथा पुनःनिर्माण लगायतका विषयमा एक मत बनाउन गठित कार्यदलको बैठक उपलब्धिहिन हुँदा संसद बैठक फेरि सरेको छ । सरेको बैठक वुधबार बिहान ११ बजे मात्रै बस्ने तय भएको छ । दलीय सहमति जुटाउन बिहान ८ बजेदेखिनै जुटेका कार्यदल सदस्यहरुले साँझ सम्म समेत निष्कर्ष निकाल्न सकेनन् । 
 
मंगलबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको बैठक दलीय सहमतिलाई कुर्दै बेलुकी ५ बजेका लागि सारिएको थियो । सोमबार कार्यदल गठन भए देखि दलहरुले विभिन्न चरणमा छलफल गरेपनि विपक्षी कांग्रेसले भूकम्प पीडितलाई एक मुष्ठ २ लाख दिनु पर्ने लगायतका प्रस्ताव अघि सारेर गरिरहेको संसद अवरोधबारे टुंगो लाग्न सकेन ।
 
कार्यदलको बैठकले ठोस निष्कर्ष ननिकालेकाले बुधबारसम्मको लागि संसद बैठक स्थगित गरिएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिएका छन् । उनले शीर्षनेताहरू अझै छलफलमा रहेकोले कार्यदलबाट सहमति जुटेपछि मात्रै संसद्बैठक बस्ने गरी स्थगित भएको जानकारी पनि दिए ।
 
सोमबार प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा सहमतिका लागि भएको छलफलपछि काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र सत्ता पक्षका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीलगायत सात सदस्यीय कार्यदल गठन भएको थियो ।
 
यसैबीत, दलीय सहमति भएपछि मंगलबार प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि बैठक बस्न सकेन । प्रधानमन्त्रीले कांग्रेसले उठाएका विषयमा जवाफ दिन खोजेको चार दिन भइसके पनि सदनमा बोल्न पाएका छैनन् । सरकार एकलौटी अघि बढ्न खोजेको भन्दै कांग्रेसले सरकारी कार्यशैलीको विरोध गर्दै आएको छ । सरकारले असार २२ गते भित्र आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेपनि सदनमा चलिरहेको मन्त्रालयगत छलफल ठप्प भएको छ । सात मन्त्रालयको छलफल अन्तिम चरणमा पुगेकै समयमा कांग्रेसले निरन्तर बैठक अवरुद्ध गरेपछि सदन लथालिङ्ग भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ