arrow

शैक्षिक सुधारका लागि प्रधानाध्यापक सम्मेलन

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
Map_jajarkot_hamrakura.jpeg.jpeg
जाजरकोट। जिल्लाको शैक्षिक सुधारका लागि जिल्ला शिक्षा कार्यालय जाजरकोटले प्रधानाध्यापकहरुको सम्मेलनको आयोजना गरेको छ । सम्मेलनपछि प्रधानाध्यापकहरुले शैक्षिक सुधारका लागि छबुँदे प्रतिबद्धता गरेका छन् । सम्मेलनमा सहभागी जिल्लास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा कार्यालयबीच २० बुँदे कार्यसम्पादन करार सम्झौतासमेत भएको छ । 
 
प्रधानाध्यापकले विद्यालयमा सबै शिक्षक, शिक्षिकाको नियमित उपस्थिति कायम गरेर विद्यालयको प्रभावकारी पठनपाठनको सुनिश्चितता गर्ने, विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने, विद्यालयका शिक्षक, कर्मचारी र विद्यालय समुदायबीचको सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता गरेका छन् । 
 
त्यस्तै, विद्यालयमा आवश्यक स्रोत साधनको व्यवस्थापन गरी सोको अधिकतम नतिजा प्राप्त हुनेगरी पारदर्शी रुपमा खर्च गर्ने, विद्यालयमा एक वर्षभित्र न्यूनतम सक्षमताको अवस्था (कक्षाकोठा, शिक्षक, पाठ्यपुस्तक, छात्रा शौचालय, बुक कर्नर) को सुनिश्चितता गर्ने र जिल्ला शिक्षा कार्यालयसँग गरिएको २० बुँदे कार्यसम्पादन करारको कार्यान्वयन गर्न प्रधानाध्यापकहरुलाई प्रतिबद्धता गराइएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। 
 
सम्मेलनमा उपस्थित प्रधानाध्यापकहरुलाई शैक्षिक सुधारका लागि विद्यालयमा वार्षिक कार्यतालिका र वार्षिक शैक्षणिक योजना बनाई कार्यान्वयन गर्ने, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गर्ने, पाठ्यपुस्तक र छात्रवृत्तिलगायतका प्रतिवद्धता रहेका छन् । 
 
त्यसैगरी, अनुदानको पारदर्शी खर्च गर्ने, एक वर्षमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन गर्ने, कोर्स पूरा गर्ने, विद्यालय सुधार योजना बनाई कार्यान्वयनमा लैजाने, सिकाइ उपलब्धि तथा परीक्षाफल विश्लेषण र सिकाइ उपलब्धि अभिवृद्धिको कार्ययोजना बनाई लागू गर्ने कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिए । 
 
त्यस्तै, विद्यालय परिसरभित्र फलफूल र फूलबारी बगैँचा स्थापना गर्ने, विद्यालयलाई स्वच्छ, सफा र सुन्दर बनाउने, शैक्षिक तथ्याङ्कहरुको प्रमाणीकरण गर्नेलगायतका २० बुँदे कार्यसम्पादन करार सम्झौता गरिएको छ । प्रधानाध्यापकहरुले कार्यसम्पादन सम्झौता र प्रतिबद्धता कार्यान्वयन गरेको खण्डमा जिल्लाको शैक्षिक सुधारमा निकै टेवा पुग्ने जिल्ला शिक्षा अधिकारी सिंहको भनाइ छ । 
 
शिक्षकहरु पठनपाठनमा ध्यान नदिने, विद्यालय नजाने, खेताला शिक्षक राख्ने, शिक्षक राजनीतिक दलका कार्यकर्ता बन्ने, विद्यालयमा गएको बजेट सदुपयोग नहुने, छात्रवृत्ति र पाठ्यपुस्तकको रकम वितरण नगर्नेलगायतका बेथितिका कारण जिल्लाको शैक्षिक स्तर खस्कँदै गएपछि जिल्ला शिक्षा अधिकारी सिंहकै पहलमा चालु शैक्षिक वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा गरी शैक्षिक सुधारका काम सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
 
जिल्लामा २० उच्च मावि, ४४ मावि, ८९ निमावि र दुई सय ८२ प्रावि रहेका छन् । उच्च मावि, मावि र निमाविका प्रधानाध्यापकहरुको सम्मेलन सोमबार सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ भने प्राविका प्रअको सम्मेलन मङ्गलबार हुनेछ । शैक्षिक सुधारका लागि शैक्षिक विकृति विसङ्गति रोक्न कार्यालयलाई सहयोग गर्ने जिल्लास्थित राजनीतिक दलले समेत प्रतिबद्धता व्यक्त गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ