arrow

नेबिसंघको नेतृत्व महिलाले गर्न सक्छन् भनेर प्रमाणित गर्न चाहन्छु : बिनिता अधिकारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ असार १४ मंगलबार
binita-adikari.jpg.jpeg

काठमाडौ । लमजुङ जिल्लामा जन्मिएर स्थानीय विद्यालयमा एसएलसी उत्तीर्ण गरी काठमाडौं आएकी विनिता अधिकारी नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदको आकांक्षा रहेको बताउँछिन् । सनै उमेरदेखि राजनीतिमा चासो राख्दै आएको बताउने उनले कक्षा पाँच देखि नै नेपाली काँग्रेस र प्रजातान्त्रिक परिपाटीको घुलमिलका कारण नेपाली काँग्रेसको राजनीतिमा आस्था बढेको बताउछिन् । आफ्नै हजुरबुवाबाट हलोक्रान्तिको सुरूवात भएको भन्ने थाहा पाएपछि बाल मनोविज्ञानमा राजनीति गरेर नै केही फरक अनुभव गर्न सकिन्छ भन्ने सोचाई राख्दै आएकी अधिकारी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र पद्मकन्या क्याम्पसको स्ववियू सभापति समेत बनिसकेकी छिन् । परिवर्तित नेपालमा नेपाली काँग्रेसजस्तो पार्टी महिलाप्रति उदार बन्न नसकेको भन्ने आरोप लागिरहेको बेला नेपाल विद्यार्थी संघ चलाउने हैसियत भएका महिला छन भन्ने देखाउनको लागि आफूले उम्मेदवारी दिन लागेको अधिकारीको दावी छ । कक्षा पाँचमा पढ्दैगर्दा तीनधारा संस्कृत छात्राबासमा भएको बक्तृत्वकला प्रतियोगितामा प्रजातन्त्रमा मेरो भूमिका शीर्षकमा भएको प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेपछि अझ बढी राजनीतिमा केन्द्रीत भएर अघि बढ्ने प्रेरणा मिलेको बताइन् । अधिकारीले नेविसंघको महाधिबेशनमा अध्यक्ष पदको लागि दाबी गरिरहँदा कुनै पनि महिलाले अहिलेसम्म नेतृत्वको दावी गर्दै उम्मेदवारी समेत नदिएको अवस्थामा इतिहास रच्दै बिजयी हुने दावी समेत गरिन् । उनका नेविसंघलाई सफल बनाउने एजेण्डा के के छन् त यसै विषयमा अध्यक्षकी आकांक्षी विनिता अधिकारीसँग हाम्रा कुराका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश :  तपाईको राजनीति सुरूवात कहिलेदेखि भयो ?

जब मैले तीनधारा संस्कृत छात्राबासमा नेपाल विद्यार्थी संघले प्रजातन्त्रमा मेरो भूमिका शीर्षकमा बक्तृत्वकला प्रतियोगितामा मैले पनि दोस्रो स्थान पाएँ । त्यहीबाट मेरो राजनीतिक भविष्य सुरूवात भएको मान्छु म त । किनभने मैले कहिलै पनि जीवनको लक्ष्य लिनको लागि पढाईसक्नुपर्छ भन्ने मुर्खता गरिन । त्यही समयदेखि नै मैले जसरी पनि राजनीतिमा लागेर एउटा सफल नेतृ बन्छु भन्ने दृढ लक्ष्य लिएँ । त्यसैदिनदेखि म राजनीतिमा लागेको हुँ भन्ने मेरो तर्क हो । सो कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र पौडेल दाइ हुनुहुँदो रहेछ । मैले त्यतिबेला त रामचन्द्रदाइलाई मेरो बाल मस्तिस्कले चिनेन । तर अहिले प्रमाणपत्र हेर्दा मात्रै थाहा पाईयो । तर मलाई के थाहा छ भने त्यतिबेला पुरस्कार दिने मान्छेले के बन्छौं नानी तिमी पछि भनेर सोध्दा मैले तपाईँजस्तै पुरस्कार दिने मान्छे बन्छु भनेको कुरा मैले अहिलेसम्म सम्झिरहेको छु । त्यतिबेला म कोहो र  ?  भन्दा तपाई नेता हो भनेको कुरा पनि मैले सम्झिरहेको छु । त्यसैले मैले अनौपचारिक रूपमा यही समयदेखि राजनीतिमा प्रवेश गरेको हुँ । तर मैले राजनीतिमा औपचारिक सुरूवात भने २०४६÷४७ सालको आन्दोलनमा झण्डाबोकेर म अग्रपंक्तीमा लागेर हिँडेको यही समयदेखि नै मेरो सक्रिय राजनीतिक जीवन सुरू भयो ।

अहिले अध्यक्ष पदमा आकांक्षा देखाईरहँदा तपाईँको राजनीतिक अनुभवहरू चाहिँ कस्ता छन्  ?

मेरो राजनीतिक अनुभवको कुरा गर्दा सडकमा बसेर ढुङ्गा हान्ने देखि टेबुलटकबाट समस्या समाधानको खोजी गर्ने हुँदै सैद्धान्तिक विषयमा पनि मेरो नेतृत्व सधैं सफल रहि आएको छ । मैले २०५५ सालमा पद्मकन्या क्याम्पसको स्ववियू सदस्य भएँ । २०५७ सालमा पद्मकन्या बहुमुखी क्याम्पसमा स्ववियू सचिवमा निर्वाचित भएँ । २०५९ सालमा म नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेको म ६० सालमा पद्मकन्या क्याम्पसमा स्ववियू सभापति निर्वाचित भएँ । त्यसपछि ०६२ साल देखि ६४ सालसम्म नेविसंघको केन्द्रीय सदस्य पनि भईसकेको छु । त्यो भन्दा पहिले हाम्रो सिस्टर अर्गनाईजेशन स्ववियू परिषद् भन्ने संस्थाको पनि केन्द्रीय सदस्य भएको थिएँ । यसरी मैले आफू विभिन्न पदमा बसिरहँदा हामीले राजाको दरबारको एक किलोमिटरको दुरीमा रहेको क्याम्पसमा बसेर ‘श्रीपेच जलाउँछौं, शासन हामी चलाउँछौं’ भन्दै सडकमा नेतृत्व गर्दै उत्रिएकै हो । महिला सहभागिताको कुरा लिएर देशभरी गएर आवाज उठाएको लगायतका यावत काम गरेर मैले आफूलाई नेविसंघको अध्यक्षको लागि स्वभाविक उम्मेदवारको रूपमा आफूलाई प्रमाणित गराईसकेको छु ।

तपाईँले नेतृत्व खोजीरहँदा तपाईँको नै नेतृत्व किन आवश्यक प¥यो नेविसंघमा ?

 यसमा म दुईटा कुरा गर्न चाहन्छु । एउटा मैले महिला भएको नाताले महिलाको हकहितको लागि भनेर मैले आरक्षण सिट जस्तो अध्यक्ष पद खोज्न खोजेको होईन । नेताहरूले जस्तो महिला नेतृले पनि नेविसंघलाई डो¥याउन सक्छन् भन्ने प्रमाणित गराउन मैले उम्मेदवारी घोषणा गरेको छु । महिलाकै दृष्टिबाट हेर्ने हो भने अहिलेसम्म महिलालाई जति अधिकार दिईएको छ । त्यो झाँरा टार्नको लागि दिएको जस्तो मात्रै गरिदै आएको छ भन्ने मलाई लागेको छ । कसैले अध्यक्षमा उम्मेदवारी दिन लाग्यो भने ‘तिमी महिला भएर पछि किन अध्यक्षमा लड्ने ? महामन्त्री तिर सहमहामन्त्री पद दिउँला भनेर सधैं हामीलाई कमजोर सोचियो । त्यसैले आज नेविसंघको स्थापना भएको झण्डै पाँच दशक पुग्दा पनि एकजना महिलाले पनि उम्मेदवारी दिन सकिरहेका छैनन् । यो परिपाटीको हामीले आजै अन्त्य गर्न आवश्यक छ । त्यसैमाथि महिला हिंशाका कुरा लगायतका यावत महिला अधिकारको कुरालाई उठान गर्न र मातृ पार्टीको हितको लागि र समग्र नेपाल विद्यार्थी संघमा आस्था राख्ने र नराख्ने विद्यार्थीको समेत हक हितमा अब महिलाले नेतृत्व लिन सक्छिन् भन्ने देखाउन नेविसंघले मेरो नेतृत्व खोजीरहेको छ भन्ने मलाई लागेको छ ।

अब तपाईँको चुनावी एजेण्डाहरू कस्ता छन् ?

 मेरो सबैभन्दा पहिलो कुरा त मैले नेविसंघमा अहिलेसम्म कुनैपनि विद्यार्थी नेताले गर्न नसकेको विद्यार्थीलाई दिएको सदस्यताको अभिलेख राख्ने काम गर्छु । अहिले कुन वर्ष हामीले कति जनालाई हामीले सदस्यता दियौं, भन्ने कुरा तपाईले भेट्टाउन सक्नुहुन्न । त्यसैले यसलाई सबैभन्दा पहिले व्यवस्थित गर्नु मेरो मुख्य एजेण्डा हुनेछ । त्यसपछि अर्को कुरा भनेको एकजना एकापट्टि अर्को जना अर्को पट्टि भईरहेको यो अवस्थामा एउटा महिला नेतृत्व आएको खण्डमा सबैलाई एउटै टोकरीमा राखेर मिलाउन सक्ने क्षमता मेरो छ । त्यसैगरी अन्य सांगठनिक सुधार र विद्यार्थी हकहितको विषय महिलाको सहभागिता लगायतका विषयमा मैले एजेण्डा बोकेर अघि बढेको छु । अहिले एक्काईसौं शताब्दी महिलाको शताब्दी भनिन्छ । अहिले विद्या भण्डारी, ओनसरी घर्ति र सुशीला कार्की लगायतले देखाएको साहसबाट पनि हामी अब एकपटक सबै क्षेत्रमा महिला नेतृत्वको परीक्षण गर्नुपर्छ भन्ने पक्षमा म लागेको छु ।

अब अन्त्यमा तपाईले आफ्ना जित्ने आधारहरू के देख्नुभएको छ  ? अझ भन्दा तपाईलाई मतदाताले किन दिने भोट ?

 सबैभन्दा पहिले त मेरो संघप्रतिको झुकाव र सानै उमेरदेखि नेविसंघमा मेरो सक्रियताका कारणले गर्दा पनि एउटा आधार बनाएको   छु । त्यससँगै अहिलेसम्म नेबिसंघमा महिला नेतृत्वको अनुभव नभएकोले पनि मैले महिला नेतृत्वको लागि एउटा नयाँ अभ्यास स्वरूप आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेको छु । सधै नेविसंघ नेतृत्व नेताहरूले गरिरहेकोमा अब नेतृबाट नेतृत्व हुनु आवश्यक छ भनेर पनि धेरै माग हुने गरेको छ । त्यसपछि मेरो नेतृत्व क्षमता, अहिलेसम्म मैले नेतृत्व गरेको संघमा प्रभाव र मेरो चुनावी एजेण्डा नै विशेषगरी मेरो जीतको आधार हो भन्ने मलाई लागेको छ । आम मतदाताले पनि मेरो यही आधारहरूका कारण सधैं नेताहरूलाई दिएको मत एकपटक नेतृलाई पनि दिनैपर्छ भनेर मत दिनुहुन्छ र म पनि अन्य बिद्यार्थी माझ ससक्त बिद्यार्थी संघ बनाउने छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ