arrow

रासायनिक मलको समस्या समाधान गर्ने उपाय खोजी गर्न समिति

logo
प्रकाशित २०७३ असार १३ सोमबार
rasayanik-mal.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले रासायनिक मल कारखाना स्थापना, वितरण प्रणाली र आपूर्तिमा देखिएको समस्या समाधान गर्न एक अध्ययन समिति गठन गरेको छ । 
 
समितिको आजको बैठकले सांसद काशीनाथ अधिकारीको संयोजकत्वमा रासायनिक तथा जैविक मलको आयात, वितरण तथा अन्य प्रक्रियाका बारेमा स्थलगत अध्ययन समेत गर्ने गरी समिति गठन गरिएको सभापति गगनकुमार थापाले जानकारी दिए । सभापति थापाका अनुसार रासायनिक मल आयातमा निजी क्षेत्रको सहभागिता तथा सरकारी प्रयासका बारेमा समेत अध्ययन गर्न कार्यादेश तोकिएको छ । उक्त समितिलाई भारतको समेत अनुभव अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । 
 
यस्तै भारतको अघोषित नाकाबन्दीका समयमा विभिन्न भन्सार नाकामा रोकिएको रासायनिक मल तत्काल छुटाउन तथा आवश्यक प्रक्रिया मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । खेतीपातीका समयमा किसानले मल नपाएको भन्ने चर्को गुनासो आइरहेको तर वीरगन्ज भन्सार नाका लगायत विभिन्न नाकामा मल रोकिए पनि प्रवेश प्रक्रिया र भन्सार शुल्कका कारण समस्या पैदा भएको जानकारी आएकाले सो समस्या तीन दिन भित्र मिलाउन र सोको जानकारी आफूलाई गराउन समेत समितिले सरकारलाई निर्देश गरेको छ । 
 
यस्तै समितिले माथिल्लो कर्णाली, पश्चिम सेती र अरुण तेस्रो जस्ता ठूला आयोजनाको स्थलगत अध्ययनका क्रममा देखिएको विषयवस्तुलाई एकीकृत कागजात बनाएर सदनमा नै पेस गर्ने गरी आवश्यक तयारी गरिएको छ । ती आयोजनाबारे अध्ययन प्रतिवेदन तयार गर्न सभापति थापाले संयोजन गर्ने जिम्मा लिएका छन् । 
सभापति थापाको नेतृत्वमा रहेको ऊर्जा सङ्कट कार्ययोजना अनुगमन समितिले आवश्यक तयारी गर्नेछ । 
 
यस्तै खाद्यान्न, तरकारी र फलफूलको गुणस्तरमा गुणस्तर मापन गर्ने प्रयोगशाला, विषादिको प्रयोग, सोसम्बन्धी नीतिगत व्यवस्था लगायत विषयमा अध्ययन गर्न सांसद रामेश्वर ढुङ्गेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ