arrow

कलङ्की–कोटेश्वर चक्रपथ विस्तारको समय डेढ वर्ष थप

logo
प्रकाशित २०७३ असार १३ सोमबार
len.jpg.jpeg
काठमाडौँ । कलङ्की–कोटेश्वर १० किमी चक्रपथ विस्तारको अवधि एक वर्ष छ महिना २५ दिन थप गरिएको छ । 
 
विसं २०७३ पुसमा सम्पन्न हुनुपर्ने भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दी, बिजुली, टेलिफोनका तार एवम् खानेपानीको पाइप र कलङ्कीमा काठमाडौँ महानगरपालिकाले निर्माण गरेको आकाशेपुलको संरचना हटाउन नसक्दा निर्माण समय थप गर्नुपरेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । 
 
पहिलो चरणको काम सम्पन्न गर्ने अवधि २०७५ साउनसम्मलाई थप गरिएको आयोजना प्रमुख राजेश दासले बताए । “प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा चिनियाँ पक्षले कलङ्कीकै विषय उठाएर दोस्रो चरणमा काम सुरु गर्ने १७ किमी खण्डको प्रस्तावका बारेमा छलफल गर्न नमानेपछि अवधि थप गर्नुपरेको हो”–उनले भने । 
 
चक्रपथ विस्तार हुने भन्ने थाहा हुँदाहुँदै पनि महानगरपालिकाको सार्वजनिक–निजी साझेदारीमा इनोभेटिभ कन्सेप्ट प्रालिले विसं २०७० मा कलङ्कीमा आकाशेपुल निर्माण गरेपछि समस्या आएको आयोजनाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की चक्रपथ विस्तार हुने सूचना आउनुभन्दा अघि नै सार्वजनिक–निजी साझेदारीअन्तर्गत इनोभेटिभसँग सम्झौता भइसकेकाले रोक्न नसकिएको बताए । 
 
“आकाशेपुल जेठ मसान्तसम्म भत्काउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पत्र आएको छ, मन्त्रालय र इनोभेटिभ दुवैलाई राखेर छलफल गरी समस्या समाधानको पहल गरिरहेका छौँ”–उनले भने । आकाशेपुल भत्काएर कलङ्कीमै काम सुरु गरेपछि डेढ वर्ष समय लाग्ने भएकाले अवधि थप गर्नुपरेको प्रमुख दासले बताए । कलङ्कीमा चार लेनको ‘अण्डर पास’ निर्माण गरिने भएकाले बढी समय लाग्छ । आयोजनाले नेपालमै पहिलोपटक अण्डर पास निर्माण गर्न लागेको हो । 
 
चीन सरकारको करिब रु पाँच अर्ब (३१२ मिलियन युआन) अनुदान सहयोगमा २७ किमी चक्रपथमध्ये १० किमी खण्डलाई आठ लेन बनाउने काम भइरहेको छ । चक्रपथ विस्तारसँगै यस खण्डमा पर्ने चार स्थानका आठवटा पुललाई पनि आठ लेनको बनाइनेछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ